कोरोनाविरुद्धको औषधि खरिद गर्न बाटो खुलाउने अध्यादेश जारी

मंसिर ४, काठमाडौं  – सरकारले परिक्षणको अन्तिम चरणमा रहेको कोरोनाविरुद्धको खोप खरिद गर्न औषधि ऐन तेस्रो संशोधन अध्यादेश ल्याएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि (तेस्रो संशोधन अध्यादेश २०७७ ) बुधबार जारी गरेकी हुन् ।
अध्यादेश ल्याउनुको कारण नखुलाए पनि सरकारले कोरोनाविरुद्ध परिक्षणको अन्तिम चरणमा रहेका भ्याक्सीनलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएपछि खरिद गर्न कानुनी बाधा नपरोस भनेर ऐन संशोन गरेको बताइएको छ ।

अमेरिकाका दुई संस्थाले बनाएका भ्याक्सीनमध्ये एउटा ९० प्रतिशत र एउटा ९५ प्रतिशत सफल भएको दावी गरिएको छ ।

परीक्षणका सबै प्रक्रिया पुरा गरेर ती भ्याक्सीन केही हप्तामै तयार हुने अपेक्षा गरिएको छ । लगत्तै खरिद गरेर ल्याउन सरकारले पहिले नै तयारी गरेको हो ।