‘जो बाइडेन’ बने अमेरिकाको ४६ औं राष्ट्रपति

कात्तिक २३, काठमाडौं – अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन विजयी भएका छन् ।

जितका लागि संसदमा २७० इलेक्टोरल कलेज भोट आवश्यक पर्नेमा बाइडेनले २८४ भोट ल्याउँदै विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने २१४ भोट मात्रै ल्याए ।

निर्णायक राज्य मानिएको पेन्सिल्भेनियामा बाइडेन र कमला ह्यारिसले जितेसँगै सिएनएन, बीबीसी, एपी लगायत अन्तराष्ट्रिय मिडियाले डेमोक्रेट उम्मेदवारहरुले जितेको जनाएका हुन् । यद्यपी यसको आधिकारिक घोषणा हुन बाँकी छ ।

नोभेम्बर ३ मा सुरु भएको निर्वाचनको मतगणना भने नोभेम्बर ७ मा सम्पन्न भएको छ । मतगणनाको अन्तिम चरणसम्म आइपुग्दा पनि दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा चलेको थियो ।

ट्रम्प दोस्रो कार्यकाल चलाउन नपाउने अमेरिकाका थोरै राष्ट्रपति मध्येमा परेका छन् । सामान्यतः अमेरिकामा दुई कार्यकालसम्म राष्ट्रपति बन्ने चलन छ ।

यस्तै उपराष्ट्रपतिको रुपमा भने कमला ह्यारिस विजयी भएकी छिन् । उनी अमेरिकाको इतिहासमा पहिलो अस्वेत र भारतीय मूलकी महिला उपराष्ट्रपति हुन् ।