खुलामञ्चमा विपन्नलाई साझा पार्टीले खाना खुवाउँदै

कार्तिक १८,काठमाडौं – साझा पार्टीले काठमाडौं महानगरपालिकाले खुलामञ्चमा विपन्नलाई खाना खुवाउन रोक लगाउन दिएको निर्देशनको विरोध गरेको छ ।

महानगरपालिकाको उक्त निर्णयको विरुद्धमा साझा पार्टीले खुलामञ्चमा नै बुधबार विहान र बेलुका खाना खुवाउन आफूले खर्च व्यहोर्ने पनि घोषणा गरेको छ ।

पार्टी प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गरी बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने बताएका हुन् । ‘शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले’ साझा पार्टीले चुनौती दिएको छ ।

साझा पार्टीले महानगरपालिकालाई आफ्नो निर्णय सच्याउन पनि आग्रह गरेको छ । ‘सरकारले तुरुन्त आफ्नो निर्णय फिर्ता गरोस् र कोरोना कहर कायम रहुन्जेल श्रमिक तथा असहायहरूलाई कि ‘काम’को व्यवस्था गरोस् कि ‘माम’को व्यवस्था गरोस्’ पाठकले विज्ञप्तिमा भनेका छन् ।