व्यक्तिगत खर्चमा जुम्लाको गर्ज्याङकोटमा मोटर बाटो

कार्तिक १८, जुम्ला  गुठीचौर गाउँपालिका ३ गर्ज्याङकोटका स्थानीय जुटेपछि १३१ मिटर लम्बाइ र दुई मिटर चौडाइ सडकको बनेको छ। आफ्नै पैसाले बनाएको सडकको गाउँलेले अबिरल मार्गको नामकरण गरेका छन्।

गाउँमा कच्ची सडक रहे पनि बर्खामा हिलाम्य हुने भएपछि ११ लाख ७५ हजार ५९५ रुपैयाँ बजेट जुटाएर आरसीसी गरिएको निर्माण समितिका अध्यक्ष खड्गबहादुर बुढाले बताए।

‘गाउँका दानी मान्छेले दिएपछि मिलेर एक लाख दुई हजार रुपैयाँ नगद उठ्यो,’ उनले भने, १० लाख ७८ हजार ५९५ रुपैयाँ बराबरको श्रमदान गरेपछि सडक आरसीसी गर्न सकिएको हो।’

सडक बनाउनलाई स्थानीय युवा नरबहादुर शाहीले २९ हजार, धर्मराज रावलले १० हजार ५००, दीपेन्द्र भण्डारीले नौ हजार ५००, मुनबहादुर बुढा, धनबहादुर बुढा, गोवीचन्द्र रावल, पूर्णबहादुर बुढा र देवीलाल बुढाले क्रमशः छ(छ हजार, गजेन्द्र भण्डारीले पाँच हजार ५००, खड्कबहादुर भण्डारी र नन्दबहादुर बुढाले पाँच पाँच हजार, परेबहादुर रावलले पाँच हजार तथा चित्र बुढाले दुई हजार सहयोग गरेपछि एक लाख दुई हजार रुपैयाँ संकलन भएको हो।

निर्माण समितिका अध्यक्ष बुढाका अनुसार सडक निर्माण कार्य गत साउन १० गतेबाट सुरु गरिएको थियो भने भदौ दोस्रो साता सम्पन्न गरी सडक सञ्चालनमा आएको छ।

उक्त सडकबाट गर्ज्याङ्कोटका ८० घरधुरी लाभान्वित भएका छन्।