सिडी विजयको आवाजमा ‘पुतली’ बोलको गीत सार्वजनिक

कात्तिक १, काठमाडौ – ‘द भ्वाइस अफ नेपाल’को पहिलो सिजनका विजेता गायक सिडी विजय अधिकारीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘पुतली’ बोलको रोमान्टिक गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो । अमेरिका निवासी प्रोफेसर डा। कैलाश घिमिरेको रचना रहेको यस गीतमा राजेश थापाको सङ्गीत रहेको छ । जसलाई बिबी अनुरागीले सङ्गीत संयोजन गरेका हुन् भने श्याम श्वेत रसाइलीले मिक्सिंग गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा टिकटक हुँदै म्युजिक भिडियोमा चर्चित बनेकी गरिमा शर्माका साथ चलचित्र ‘लम्फु’बाट डेब्यु गरेका नायक कबिर खड्का र बाल कलाकार आर्शिना भट्टराईले अभिनय तथा नृत्य गरेका छन् । भिडियोमा दशैँको माहौललाई रमाइलो ढङ्गबाट उतारिएको छ । भिडियो उत्सव दाहालको छायाङ्कन, नवीन निरौलाको सम्पादन तथा दिपेन गौतमको निर्माण व्यवस्थापनमा तयार भएको हो । सुबोल थापाको नृत्य निर्देशन गरेको म्युजिक भिडियोलाई जया शर्माको कन्सेप्टमा सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् ।