सेनेगल मोरोक्कोसँग ३–१ ले पराजित

एजेन्सी – स्टार फरवार्ड साडियो माने र गोलरक्षक इडुआर्ड मेन्डीविना मैदानमा उत्रिएको सेनेगल अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा मोरोक्कोसँग पराजित भएको छ । सेनेगलले घरेलु टोलीसँग ३–१ को हार बेहोरेको हो ।

सेनेगलले कोरोना संक्रमणका कारण आफ्नो स्टार फरवार्ड साडियो माने र चोटका कारण गोलरक्षक इडुआर्ड मेन्डीविना खेल्नुपरेको थियो । यस्तै मोरोक्कोले पनि चोटसँग संघर्ष गरिरहेका हाकिम जियाचलाई दोस्रो हाफमा मैदानमा उतार्दा डिफेन्डर अचरफ हाकिमीले सुरुवातमा मौका पाएका थिए ।

मोरोक्कोको जितमा सेलिम एमल्लाह, युसेफ इन न्यास्री र युसेफ अल अरबीले गोल गरे । सेनेगलका इस्माइल सारले सान्त्वना गोल फर्काए । स्टेड प्रिन्स मोउले अब्दल्लाह राबटमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीले खेलको १०औं मिनेटमा सेलिम एमल्लाहको गोलबाट पहिलो हाफमा १–० को अग्रता लिएको थियो ।

७१औं मिनेटमा युसेफ इन न्यास्रीले गोल गर्दै मोरोक्कोको अग्रता दोब्बर पारेको थियो । ८६औं मिनेटमा युसेफ इल अरबीले गोल गरेपछि मोरोक्कोले खेलमा ३–० को आरामदायी अग्रता बनायो । ८८औं मिनेटमा इस्माइल सारले पेनाल्टीमार्फत गोल गरेपछि खेल ३–१ को अवस्थामा टुगिंयो ।