राप्तीगाउँपालिकाका अध्यक्ष भन्छन्- ‘तत्काल राजधानी सारिएपनि समस्या छैन’

असोज २२, बाँके – देशभरका सात प्रदेश मध्ये प्रदेश नम्वर पाँचले नाम र स्थायी राजधानी टुंगो लगाएको छ । प्रदेश नम्बर ५ को सभालले नाम लुम्बिनी र स्थायी राजधानीका रुपमा दाङको भालुवाङ (देउखुरी) क्षेत्रलाई बनाएको हो । दाङको राप्ती, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकालाई समेटेर राजधानी तोकिएको हो । राजधानीको केन्द्रका रुपमा रहने देउखुरी क्षेत्र पर्ने राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसँग इमेल खबरले गरेको कुराकानी –

लुम्बिनी प्रदशेको राजधानी भालुवाङलाई तोकियो के छ तपाईको प्रतिक्रिया ?

एकदम खुसी लागेको छ । सर्वप्रथम देउखुरी क्षेत्रलाई राजधानी बनाउन सहयोग गर्ने प्रदेश सरकारका सम्पूर्ण मन्त्री तथा सांसद ज्यूहरुलाई एकदम धन्यावाद दिन चाहान्छु । हरेक दृष्टिले उपयुक्त ठाउँलाई राजधानी तोकिएको छ । मलाई एकदमै खुसी लागेको छ । त्यसको खुसीयालीमा दिप प्रज्वलन समेत गरेका गरियो । यो हाम्रो लागि निकै ठूलो अवसरको कुरा हो । यो क्षेत्र भनेको प्राकृतिक सुन्दरता देखि ऐतिहासिक महत्व बोकेको ठाउँ हो । राजधानी क्षेत्रका एक स्थानीय तहको प्रमुखको हैसियतले हामीले गर्नु पर्ने सम्पूर्ण कामका लागि तयार छौ । यसले साँच्चै संघीयता आएको महशुस हामीलाई भएको छ ।

राजधानी क्षेत्रको अहिले भौतिक पूर्वाधारको अवस्था के छ बताइदिनुन ?

स्वाभाविक रुपमा राजधानीको लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणको लागि सहजता प्रदान गर्नु हाम्रो प्रमुख दायित्व हो । यहाँ धेरै भौतिक संरचना र सुविधाहरु उपलब्ध गराउनु पर्ने हुन्छ । त्यसको लागि गाउँपालिकाले पूर्वाधार निर्माणको लागि जग्गा उपलब्ध गराउँछ । अहिले हामीसँग भएका भौतिक पूर्वाधारलाई प्रयोग गर्छौ । हामीसँग तत्काल राजधानी सारेपनि पूर्वाधार पूर्ण छ । त्यसमा हुनै पनि समस्या छैन । यहाँ राप्ती प्राविधिक शिक्षालय छ । जुन सुविधा सम्पन्न छ । २२ बिगाहा क्षेत्रफलमा फैलिएको छ । तीन सयको हाराहारी मानिस अटाउने सभा हल छ । यहाँ मन्त्रीहरुका लागि क्वाटर राख्न समेत काम लाग्छ । यस्तै अन्य संरचना समेत धेरै छन् । यस्तै विद्यालयहरु तथा गाउँपालिका र वडा कार्यालयहरु समेत सुविधा सम्पन्न रहेको छ । त्यसैले हामीलाई आवश्यक पर्ने भौतिक पूर्वाधार व्याप्त छ ।

राजधानीको केन्द्रमा राप्ती गाउँपालिका छ, के पायो के गुमायो जस्तो लाग्छ नि तपाईलाई ?

गुमाउने कुरा नै छैन । धेरै कुरा प्राप्त गरेको छ । यो निकै रणनितिक क्षेत्र हो । यहाँको सम्भावनाले सिंगो प्रदेशको प्रतिनिधित्व गर्छ । गाउँपालिकाबाट सिधै राजधानी हुनु हाम्रो लागि निकै गौरवको कुरा हो । यसलाई हामीले हाम्रो प्राप्तिको रुपमा लिएका छौ । सिंगो राप्तीबासीले प्राप्त गरेको ऐतिहासिक सफलता हो । त्यसैले भोली यहाँ स्वभाविक रुपमा विकास हुनेछ । जनआवाधि बढ्ने, ठूला ठूला संरचना हुनेछन् । सिंगो प्रदेशको बौद्धिक वर्गहरु यहाँ हुनेछन् । रोजगारीको अवस्था सिर्जना हुनेछ । बास्तवमा हामीले धेरै कुरा पाएका छौ ।

आगामी दिनहरुमा गाउँपालिका कसरी अगाडि बढ्छ ?

प्रदेशको दुई तिहाई बहुमतले यस क्षेत्रलाई राजधानी तोकेको छ । यसमा हामीले मात्रै होइन सिंगो प्रदेशले नै स्थायी राजधानी र नाम पाएको छ । यो सबैको लागि ऐतिहासिक क्षण हो । अर्कातिर मुख्य केन्द्रमा रहेको स्थानीय तह हुनुका नाताले हाम्रो जिम्मेवारी धेरै छ । आमी अब यसमा केन्द्रीत रहने छौ । गाउँपालिकाले गर्ने कुनै पनि कुरा बाँकी राखिने छैन । सम्पूर्ण राजधानी बासीहरुलाई अब पहिलो भन्दा पनि अलि माथि उठेर अघि बढ्न पनि आग्रह गर्न चाहन्छु ।