चित्तल मारेको आरोपमा दुई जना पक्राउ

असोज २१, बाँके – संरक्षित जंगली जनावर चित्तल मारेको आरोपमा दुई जना पक्राउ परेका छन ।

मंगलबार बेलुका बाँकेको राप्तीसोनारीबाट चित्तल मारेर नेपालगन्जतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले बुधबार पत्रकार सम्मेलन गरी उनिहरुलाई सार्वजनिक गरेको छ ।

फत्तेपुरबाट नेपालगंज तर्फ आउदै गरेको सामेल रोकाले चलाईराखेको भे ८ प ५४६५ नम्बरको मोटरसाईकल पछाडि अन्जन हमालले समातेको बोरा खानतलासी गर्दा अन्दाजी २५ २६ किलोको पोथि चित्तल फेला पारीएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख ओम रानाले जानकारी दिए ।

प्रहरीका अनुसार राप्तिसोनारी गाँउपालिका ६ कुण्डाचोकमा जंगली जनावर (चित्तल) मारेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बनकट्टी (क) र अस्थायी प्रहरी पोष्ट फत्तेपुरबाट खटिएको प्रहरी टोलिले बाँकेको डुडुवा गाँउपालिका वडा नं. ४ राप्तीनदी पुलमा मरेको चित्तल सहित दुई जनालाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका ब्यक्तिहरुले राप्तीसोनारी गाँउपालिका ६ ढलैयाका रामु वलीबाट ११ हजार नगदमा उक्त चित्तल खरीद गरी ल्याएको बयान दिएकाले घटनामा संलग्न अन्य ब्यक्तिको समेत खोजी सुरु गरीएको रानाले बताए ।