मेडिकल कलेज कोहलपुरमा उपचाररत दुई संक्रमितको मृत्यु

असोज १५, बाँके – बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका ४ का ५२ वर्षीय पुरुष र सुर्खेत भेरीगंगा नगरपालिका ८ का ७५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँके आई बिभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि नेपालगन्ज ४ का ५२ वर्षीय पुरुषको असोज १० गते कोरोना परीक्षणका लागि स्वाव संकलन गरीएको थिए । १२ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई त्यसैदिन कोभिड आइसोलेसन वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।

रेमडिसिभिर औषधिको प्रयोग गरी उपचार गर्दा समेत स्वास्थ्यमा सुधार नदेखीएका ति पुरुषको बिहीबार विहान साढे पाँच बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले ईमेल खबरलाई जानकारी दिए । मृतकको दुवै फोक्सोमा निमोनिया भएको थियो ।

त्यस्तै लडेर घाइते भएपछि उपचारकालागि कोहलपुर ल्याइएकी सुर्खेत भेरीगंगा नगरपालिकाकी महिलालाई कोरोना संक्रमण देखिएको थियो । असोज ६ गते अस्पताल भर्ना भएकी उनको कोरोना परीक्षण गर्दा ८ गते रिर्पोट पोजेटिभ आएको थियो । तत्काल उनलाई कोभिड वार्डमा राखेर उपचार सुरु गरिएको थियो ।

उनको उपचारकै क्रममा बिहिबार बिहान १ बजे मृत्यु भएको हो । उनी दम र मृगौला रोगबाट पीडित थिइन् । उनको असोज १२ गते मृगौलाको डाइलासिस समेत गरिएको थियो ।