विभिन्न मुद्दाका फरार व्यक्तिलाई पक्राउ, २२ लाख जरिवाना सङ्कलन

भदौ ३१, काठमाडौ – जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरी २२ लाख ३५ हजार ९३० जरिवाना रकम सङ्कलन गरेको छ । जिल्ला अदालतको फैसलाबाट कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहँदै आएका व्यक्तिलाई पक्राउ गर्ने अभियान थालेपछि उक्त जरिवाना रकम सङ्कलन भएको हो ।

एकासी दिनमा १०८ फरार अभियुक्त पक्राउ गर्दा उक्त रकम सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । प्रहरीले असारमा नौ, साउनमा ४५, भदौ २८ गतेसम्म ५४ गरी १०८ जना अभियुक्त पक्राउ गरेको उहाँले बताउनुभयो । उनका अनुसार ठगी, चोरी, बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यान लागुऔषध, बैंकिङ कसुर, किर्ते, वन, सार्वजनिक अपराध, तथा देवानीलगायत मुद्दामा फरार रहेका व्यक्ति पक्राउ परेका छन् ।

तनहुँ प्रहरीले गत आइतबार एकै दिन ३५ फरार अभियुक्तलाई पक्राउ गरेको छ । अदालतबाट फैसला भई जरिवाना भुक्तान गर्न बाँकी रहेका उनीहरुबाट २०० देखि दुई लाखसम्म गरी चार लाख १६ हजार ३२५ भुक्तानीका लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइबाट एकै दिनमा उक्त सङ्ख्यामा उनीहरु पक्राउ गर्नु उपलब्धीमूलक भएको प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले बताए । छोटो समयमै धेरै अभियुक्त पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलको सर्वत्र चर्चा भएको छ । तनहुँ प्रहरीले अब कता आँखा लगाउने हो भन्ने चासो पनि जिल्लाबासीलाई भएको छ ।

“अपराध गर्नेहरु निस्फिक्री हिँड्दा अपराध गरे पनि केही हुँदैन भन्ने भावानाको विकास हुन्छ, त्यसलाई अन्त्य गर्न अभियानकै रूपमा टोली परिचालन गर्दा उनीहरु पक्राउ परेका हुन्”, प्रहरी उपरीक्षक पौडेलले भने । उनी असार ८ गते वाग्मती प्रदेश कार्यालयबाट तनहुँमा आएपछि फरार व्यक्तिहरुको खोजी कार्यलाई तीव्रता दिइँदै आएको हो । रासस