नेकपाको विवाद- ‘केन्द्रमा जस्तै स्थानीय तहमा पनि हट्दै गएको छ’

भदौ ३१, वाँके – सत्ताधारी नेकपाको लामो समयको पदीय झगडा तत्कालको लागि मत्थर भएको छ । कोरोना महामारीका बीच चुलिएको पदीय विवाद अन्तत स्थायी कमिटिको पछिल्लो बैठक मार्फत औपचारिक रुपमा टुंगिएको वताइएकोे छ । अब बाँकी प्रतिनिधि सभाको कार्यकाल सम्म अध्यक्ष सहित प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई निरन्तरता दिने, पुष्पकमल दाहाललाई कार्यकारी अधिकार सहित पार्टी सञ्चालनको जिम्मेवारी दिने गरी विवादको अन्त्य भएको हो । अब प्रधानमन्त्री ओली सरकार र प्रचण्ड पार्टी सञ्चालनमा क्रियाशिल हुनेछन् । यसै गरि सरकार अब पार्टीसँगको सहकार्यमा सञ्चालन हुनेछ । तर स्थायी कमिटीको वैठक पछि केन्द्रमा विवाद मत्थर भए पनि नेकपाको स्थानीय तह सम्म पुगेको झगडा मत्थर भएको होला ? वा, यस निर्णयलाई स्थानीय नेताले कसरी वुझेका छन ? कोरोना कहरको विद्यामान अवस्थामा राजनीतिकको भूमिकामा माथि जनता असन्तुष्ट छन् । सत्ताधारी पार्टीको केन्द्र देखि स्थानीय स्तर सम्म आवश्यक पहल किन देखिएन ? यस्तै समसामयिक विषयमा नेकपा ५ नम्बर प्रदेश कमिटी सदस्य खिलप्रसाद भूसालसँग गरिएको संक्षिप्त कुराकानी –

लामो समय देखिको नेकपाको विवाद टुंगिएकै हो ?

नेकपा देशको सबै भन्दा ठूलो पार्टी हो । सत्ताधारी पार्टी पनि हो । जुन पछिल्लो समयमा नेकपामा समस्या देखिएको थियो । त्यो टेक्निकल लडाई थियो । त्यो पार्टीको सैद्धान्तिक लडाई थिएन । त्यसैले लामो समय सम्म विवाद रहिरहने अवस्था थिएन । अगुवा नेता तथा कार्यकर्ताको विश्वास के थियो भने यो छिट्टै साम्य हुन्छ । आखिर त्यही भयो । विवाद समाधान भयो ।

पार्टीको केन्द्रमा विवाद हुँदा स्थानीय स्तरमा समेत विवाद देखिएको थियो । अब सबै ठाउँमा विवाद सकियो त त्यसो भए ?

प्रथमतः नेकपा लोकतान्त्रिक पार्टी हो । पार्टी लोकतान्त्रिक विधि र विधान तथा प्रचलित मुल्य मान्यता अनुसार सञ्चालन हुन्छ । यही अभ्यासलाई अगाडि वढाउन खोजेको हो । । तसर्थ कसैको पक्ष र विपक्षमा भन्ने कुनै पनि कुरो हुँदैन । हरेक चिजमा सकारात्मक र नकारात्मक पक्ष हुन्छ । सकारात्मक पक्षलाई वोकेर हिड्ने हो । केन्द्रमा देखिएको विवादसंगै स्थानीयस्तरमा कार्यकर्ताहरु विवादमा उर्तिनु स्वाभाविक थियो । विवाद पनि भयो । जसरी केन्द्रमा समस्या समाधान भयो त्यसरी नै स्थानीय स्तरको समस्या सामधान हुन्छ । विवाद हुँदैन । केन्द्रमा विवाद सुल्झीए संगै स्थानीय तथा प्रदेशमा पनि देखिएका विवाद हट्दै गएका छन ।

कतिपय ठाउँमा पूर्व एमाले र पूर्व माओवादी बीचमा अन्तरद्धन्द्ध रहेको देखिन्छ, उनीहरु मिलेका छन् भन्ने आधार के छ नी ?

नेकपा श्रमजीवीहरुको पार्टी हो । आधार भनेको वर्ग पक्ष दल हो । श्रमजीवी, सर्वहारा, मजदुर, विपन्न, पछाडि परिरहेका मानिसहरुको पक्षमा बोल्ने मान्छे हौं हामी । सैद्धान्तिक पक्षबाट ऐकेबद्धता भएपछि व्यक्तिगत चाहाना, विचार र धारणाबाट पार्टी चल्दैन । पूर्व एमाले र पूर्व माओवादी भनेको पहाडबाट बगेर आएको नदि नाला जस्तै हो । हिजो फरक थिए । तर अहिले नेकपा बनेको छ । यो दुई खोला मिलेर बनेको समुद्र हो । त्यो समुद्रमा गुटबन्दी भन्ने कुरा हुँदैन । यो आफ्नो सिद्धान्तले चलेको पार्टी हो । समस्या समाधान हुदै जान्छन ।

नेकपा जनताको पार्टी हो तर कोरोना कहरका समयमा सरकार र पार्टी जनताका मुद्धामा केन्द्रीत भएको देखिएन नी ?

केन्द्रमा भएको विवादले गर्दा जनताको समक्ष पुग्न सकिरहेको अवस्था छैन । अहिले यस्तो महामारीको समयमा केन्द्रमा बेमौसमीको बाजा बजाए जस्तो गरेर हाम्रो ध्यान अन्य क्षेत्रमा लगाउनु परेको कारणले गर्दा यसमा दुःख लागेको छ । यसमा हामी आत्मआलोचित हुनुपर्दछ । यो भनिरहँदा फेरी जनतालाई सहयोग नगरेको भन्ने होइन । पार्टीको तर्फबाट व्यक्तिको तर्फबाट सहयोग भएको छ । जति हुनुपथ्र्थो त्यति भएन भन्ने मात्र हो । हाम्रो पार्टी अहिले श्रमजीवी वर्गहरुमा काम गरेको छ । उनीहरुको नै हो नेकपा पार्टी भनेको । उनीहरुको विषयलाई नै गम्भिर भएर आफ्ना कामहरु अगाडि सारेको छ । विपन्न परिवार, गरिब वर्ग, लक्षित वर्ग, मजदुर वर्गहरुलाई काम गरी खाने वातावरण तयार गर्नका लागि हामी लागि परिरहेको अवस्था रहेको छ ।