बेनी–जोमसोम सडक अवरुद्ध

भदौ ३०, काठमाडौ- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा आएको बाढी र पहिरोले सडक बगाएपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । करिब २०० मिटर सडक पहिरो र रुप्सेखोलाको बाढीले बगाएपछि सोमबारदेखि सवारी आवत–जावत अवरुद्ध भएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए। “मान्छे पनि हिँड्न नमिल्ने गरी ट्र्याक बगाएको छ”, उनले भने, “मानिस आउजाउ गर्ने काठको अस्थायी पुल ९साँघु० बनाएका छौँ । पहिरो नरोकिए र बाढी कम नहुँदासम्म सडक मर्मत गर्न गाह्रो छ ।”

सडक अवरुद्ध हुँदा मुस्ताङमा उत्पादन भएको स्याउ बजार पठाउन समस्या भएको छ । मुस्ताङका बगैँचामा स्याउ टिप्न शुरु भएको छ । यसैगरी ढुवानी र अत्यावश्यक कामका लागि आवतजावत पनि प्रभावित भएको छ । छैहत्तर किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा आवतजावत प्रभावित भएको छ । बिरामीलाई अस्पताल लैजान महँगोमा हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था छ । सडक मर्मत गरी यातायात सञ्चालनका लागि पहल गरिएको मुस्ताङका प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए । यसअघि गत असार २६ गतेदेखि अवरुद्ध भएको सडक यही भदौ ९ गतेदेखि सञ्चालनमा आएको थियो ।

असार २६ गते रघुगङ्गा नदीमा आएको बाढीले भत्काएको गलेश्वरको बेलिब्रिज साउन २७ गते मर्मत गरेर सञ्चालन गरिएको थियो । यसैगरी साउन ५ गते रुप्सेखोलामा आएको बाढीले निर्माणाधीन र चालू अवस्थामा रहेको दुई वटा मोटरेबल पुलसहित रुप्सेमा सडक बगाएको थियो ।