कोरोनाको कथा ‘ढोका’ फिल्ममा (भिडियोसहित)

भदौं २५, काठमाडौं विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) का कारण मानिसमा परेको मनोसामाजिक समस्यालाई लिएर बनेको ढोका फिल्म सार्वजनिक भएको छ ।

वन्डेड लायन प्रोडक्सन र डिएआर मुभिज एन्ड फिल्मसको संयुक्त प्रस्तुति रहेको ‘ढोका’ फिल्मको लेखन तथा निर्देशन नायक दिवश धितालले गरेका छन् । नायकको रुपमा काम गरेका दिवसले पछिल्लो समयमा निर्देशनमा पनि काम गरिरहेका छन् । दिवशले यसमा कलर डिजाइन पनि गरेका छन् ।

आम मानिसलाई कोरोनाको कारण परेको मानसिक तनावलाई ढोकामार्फत उतारिएको निर्दशक धितालले बताए । फिल्मको छायांकन तथा सम्पादन बरुण कोइरालाले गरेका छन् । वरुण भारतमा गएर छलचित्र छायांकन अध्ययन गरेर केही वर्ष भारतको चलचित्र उद्योगमै छायांकनको अनुभव लिएर नेपाल आएका छांयाकार हुन् । बरुणले यस फिल्ममा साउण्ड डिजाईनको पनि काम गरेका छन् ।

ढोकालाई निर्माता राजाराम गौतमले निर्माण गरेका हुन् । फिल्ममा कलाकारहरु आकाश शर्मा, विशाल बस्याल, नवराज अर्याल, अमृत बस्याल र नवराज भण्डारीको अभिनय रहेको छ ।

यसको कथा वस्तुलाई पर्दामार्फत आम दर्शक सामु ल्याउन प्रभावन जे एन्ड टिमले प्रमुख सल्लाहकारको रुपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । फिल्ममा निर्माण नियन्त्रण विवेक चौलागाईं रहेका छन् । फिल्म वन्डेड लायन प्रोडक्सनको अफिसियल युटुव च्यानलबाट दर्शक माझ आएको छ ।