आयुसको ‘आहारा’ खोसियो बिजेसराको ‘साहारा’

भदौ २५, बांके–छोरा, बुहारीले बिहानै वचन दिएका थिए,‘बजार गई नया लुगा ल्याइदिन्छु आमा’ भनेर । ६७ वर्षिया विजेसरा मन मनै खुसी थिइन् । रित्तो झोला कोखिलामा च्यापि छोरा (टेक बहादुर दमाई) र बुहारी (चाइलु) बजारको बाटो लागे । जेठो नाती अटेर गर्दै आमाबाउको पछिपछि लाग्यो ।

घरमा ६७ वर्षिया बिजेसरा दमाई डेढ महिनाको कान्छो नानी खेलाउदै बसिन । बजारबाट नया लुगा र खाने कुरा आउने खुसी मन मनै साधेकी थिइन् । नियतीको खेल । घन्टा नबित्दै अचानक तितो समाचार सुन्नु पर्यो । छोरा, बुहारी र नाती पहिरोमा परेको खबर । उनीसंगै १० जना समेत यो विपतमा ज्यान गुमाएछन् । नग्मा बजारको भिरालो ठाउबाट आएको पहिरोमा पुरिएर उनीहरुले ज्यान गुमाउनु परेको थियो ।

न्यानो लुगा र मिठो खाना लिन गएको छोरो कहिल्यै नफर्किने गरि गएको सुन्दा बिजेसरीका बुढौली आंखा आशुमै मौन रहे । भदौ, १३ गते घटेको यो कालो दिन उनका लागि जीवनभरको घाउ बनेकोछ । अझ चर्को घाउ त उनले काखमा खेलाउदै गरेको ढेड वर्षको नानीको भविष्य छ । दुध खुवाएर पेट भोराउनु पर्ने बालक आमाको ममता विहीन भएकोछ । भोकले छटपटाइरहदा बिजेसरा आत्तिएर वर्षौ पहिले सुकेका आफ्नै दुधका लाम्टा चुसाउछिन् । भोकले कहा मान्छ र ? बालक रोइहरेको सुनेर छिमेकीले दुध खुवाइदिन्छन् ।

खोसियो डेढ महिने आयुसको आहारा

पहिरोले विजेसराको छोरा बुहारी मात्रै गुमेन । डेढ महिनाको अबोध बालक आमाको छायाबाट सधैका लागि टाढा भयो । दुध खाएर पोषिलो हुने उसको भाग्य हरायो । बुढी हजुरआमाको भरमा दुधे बालक सहित तीन वर्षिया नातीनि (करिस्मा) र ५ वर्षिया नातीनि (पुर्णीमा) गरि तीन जनाको जिम्मेवारी थपिएकोछ । बुढेसकालमा सन्तानको साहार पाउनु पर्ने उनको भाग्यले बेग्लै मोड लिएकोछ । ‘आज हो की भोली मर्ने हो थाहा छैन’, उनी भन्छिन्,‘यि टुहुरा नाबालकलाई कस्ले पाल्छ ?’ गरिबीले छपक्कै छोपीएको उनको परिवारमा सांझ विहान खाने अन्न जुटाउने कोहि छैनन ।

साहारा गुमाएकी बिजेसरा

१० दिनभयो, ६७ वर्षीया बिजेसरा दमाईको आँखा ओभानो छैन । आँगनको डिलमा बसेर दुधे बालक काँखमा च्यापेर छोरा बुहारीको प्रतिक्षा गर्छिन् । बुहारी कतिबेला आउँलिन, नाती भोकले मर्न लागिसक्यो । सम्झिएर त्यो भयानक दृष्य, आँखामा टिलपिल आँशु झार्दै रुन्छिन् । भोकले बालक रुन्छ, नातिनीहरु भोक लाग्यो भन्दै पिठ्युमा आउँछन् । उनलाई सबै भन्दा ठूलो पीर आयुसको छ । कसरी पाल्ने, हुर्काउने र पढाउने । उनी भन्छिन्,‘म बुढि त कतिदिन बाँचुला । यिनीहरु टोक्या‐टुहुराहरुलाई कसरी पाल्ने होला ।’ जतिदिन बित्छ उनको चिन्ताको पारो झन बढ्न थालेको छ । कोही सहयोग गर्न आउँछन् । केहीखानेकुरा दिन्छन् जान्छन् । उनीहरुको बिचल्ली नै भएको छ । अहिले छिमेकीहरुले सहयोग गरिरहेका छन् । डेढ महिने बालकको हेरचाह गरिरहेकी हजुर आमा बिजेसरा आमाको मृत्यु पछि दुध किनेर खुवाउने पैसा नभएर आयुस छटपटाइरहेको बताउँछिन् ।

‘डेढ महिने बालक आयुस’ बचाउ अभियान

उक्त परिवारको दुःखको घाउमा मल्हम लगाउने सहयोगी हातहरु अहिले बढिरहेका छन् । एक बृद्ध र ढेड महिने बालकको सहयोगको लागि जुम्ली युवा स्वंयमसेवक समुहले डेढ महिनाका आयुस बचाउ अभियान सुरु गरेको छ । जुम्लाका युवाले डेढ महिनाका बालकलाइ बचाउन नाग्मा बजारमा रहेको नेपाल इन्भेष्टमेण्ट बैंकमा सम्बन्धित वडाका अध्यक्षको रोहोबरमा १२ हजारको खाता खोलेर आर्थिक संकलन अभियान सुरु गरेका हुन । जुम्लाका स्थानीयतहको सहयोग जुम्ली युवा स्वयमसेवक समुहले सुरु गरेको आयुस बचाउ अभियानमा तिला गाउँपालिकाले ५० हजार र हिमा गाउँपालिकाले ५० हजार सहयोग गरेका छन । भने जुम्लाका अन्यव्यक्तिहरुले समेत सहयोग गरेको समुहका सदस्य धनराज सुनार बताउँछन् । उनकाअनुसार समुहले केही दिन अघि नाग्म गाउँ मै पुगेर सहयोग हस्तान्त्रण गरेको हो । अहिले डेढ महिने बालक, दिदिहरु र बृद्धको अवस्था नाजुक रहेको सुनारले इमेल खवरलाई जानकारी दिए ।