डा केसीको सत्याग्रह फेरी स्थगित

भदौ १८, जुम्ला -डा गोविन्द केसीले आज बिहीबारदेखि घोषणा गरेको सत्याग्रह स्थगित भएको छ । स्वास्थ्य र चिकित्सा शिक्षा सुधारका अभियन्ता समेत रहेका उनले कोरोना कहरको अवस्थालाई मध्यनजर गर्दै सत्याग्रह स्थगित गरेका हुन् ।

बिहिबार विहान एक प्रेस विज्ञप्ति जारी गर्दै उनले सत्याग्रह स्थगन गरिएको जानकारी दिएका छन् । उनले सरकारले आफ्ना माग पूरा नगरे कुनै पनि बेला सत्याग्रह सुरु गर्ने चेतावनी समेत दिएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रम सुरु गर्नुपर्ने माग राखी देखि सत्याग्रह गर्ने घोषणा उनले गरेका थिए ।

प्रधानमन्त्री केपी ओलीको केन्द्र सरकारदेखि कर्णाली प्रदेश सरकारसमेत आफ्ना जायज मागसहितको आन्दोलनलाई दमन गर्न लागि परेको भन्दै उनले आमनागरिक र जुम्लावासीको विशेष आग्रहलाई मनन गर्दै सत्याग्रह कार्यक्रम केही समयका लागि स्थगन गरिएको एक विज्ञप्ति निकाल्दै जानकारी दिए ।

हाल जुम्लामा रहेका उनले इमेल खवरसँग कुराकानी गर्दै वर्तमान सरकारले आफूलाई बारम्बार धोका दिएको भन्दै माग पुरा नभए कुनै पनि बेला आफूले सत्याग्रह शुरु गर्ने बताए ।

डा केसीले विज्ञप्तिमा कोरोना जोखिमको समय निरन्तर खटेर स्वास्थ्य सेवा दिइरहेका सरकारी र निजी क्षेत्रका सबै स्वास्थ्यकर्मीलाई नियमित सेवा–सुविधाका साथै जोखिम भत्ता दिलाउन पनि माग गरेका छन् । केसी यस अघि पनि २०७५ मा जुम्ला मै अनसन बसेका थिए ।