कालिकोटका प्रजिअ भन्छन् –“ भिरालो जमिनमा रहेका बस्ती स्थानान्त्रणको विकल्प छैन ”

 

भदौ १५, बाँके – भौगोलिक रुपमा अत्यन्तै कठिन भूगोल भएको प्रदेश हो कर्णाली । कर्णालीमा वर्षेनी वर्षाको समयमा विशेष गरि बाढी र पहिरोमा परि जनधनको क्षति हुने गरेको छ । यस वर्षको वर्षायाममा समेत कर्णालीका १० जिल्ला मध्ये केही जिल्ला प्रभावित बने । कर्णालीमा पहिरोबाट सबै भन्दा बढि प्रभावित हुने जिल्ला मध्ये कालिकोट समेत एक हो । यस पटकको वर्षायाममा मात्रै हाल सम्म कालिकोटमा पहिरोमा परेर ४२ जनाको ज्यान गएको छ भने अहिले सम्म जना बेपत्ता छन् । आइतबार कालिकोट र जुम्ला जिल्लाको सिमानामा पर्ने तिलागूफा नगरपालिका –१ नाग्म बजारमा पहिरो जाँदा १० जनाले ज्यान गुमाए । पछिल्लो पहिरोको घटना र कालिकोटमा विपत व्यवस्थापनका अवस्थाको विषयमा इमेल खवर डटकमले कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेसँग कुराकानी गरेको छ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सक्षिप्त अंश ।

आइतबार कालिकोटको नाग्म बजारमा भएको घटनाको पछिल्लो अपडेट के छ बताइदिनुन ?

अहिले त्यहाँको अवस्था सामान्य छ । जिल्ला प्रहरी कार्यालयको टोली त्यहाँबाट भर्खर मात्रै फर्किएको छ । त्यहाँ अहिले सम्म १० जनाको मृत्यु भइसकेको छ । दुई जनाको जिवितै उद्धार गरिएको थियो । उहाँहरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार पछि फर्किसक्नु भएको छ । तत्कालको आवश्यकता भनेको मृतकहरुको पोष्टमार्टम नै हो । मृतकको पोष्टमार्टमको लागि जिल्लाबाट डाक्टरहरुको टोली बिहानै हिडिसकेको छ । दिउँसो एक वर्षसम्म टोली त्यहाँ पुग्छ । पोष्टमार्टम पहिरो गएको ठाउँ मै हुन्छ । सम्बन्धित पक्षलाई शव हस्तान्त्रण गर्ने काम हुन्छ ।

पहिरोबाट कालिकोट निकै प्रभावित भयो, मृतक र घाइतेको संख्या वताइदिनुस न ।

पक्कै पनि हो । कालिकोटले यसपटकको वर्षायाममा ठूलो क्षति व्यहोरेको छ । शनिबार सम्मको तथ्यांक अनुसार कालिकोटमा मृत्तकको संख्या ३२ र वेपत्ताको संख्या सात गरि कुल ३९ पुगेको छ । आइतबार नाग्म बजारमा गएको पहिरोमा गरि अहिले सम्म १० जनाको मृत्यु भइसकेको छ । यो सम्म जम्मा मृतकको संख्या ४२ र बेपत्ताहरुको संख्या सात रहेको छ । यहाँका कम्तिमा चार वटा स्थानीय तह पहिरोबाट प्रभावित भएका छन्

कालिकोट भौगोलिक रुपमा पनि विकट छ, त्यहाँको विपत् व्यवस्थापन गर्न नसकिएका कारण यस्तो अवस्था भोग्नु परेको हो ?

पूर्वतयारीका काम हामीले गरेका थियौ । वर्ष शुरु हुनु अघि नै जिल्ला विपत् व्यवस्थापन समितिको बैठक बसेको थियो । सबै स्थानीय तहलाई पूर्वतयारी अवस्थामा रहन समेत हामीले निर्देशन जारी गरेका थियौ । विपत् जतिबेला पनि आउने भएकोले यसबाट जोगिनु नै सबै भन्दा ठूलो कुरा हो । कर्णाली राजमार्गमा समस्या हुने भएकोले हामीले अगाडि नै जेसिवि, डोजर लगाएत पूर्वतयारी अवस्थामा राख्न लगाइयो । अर्कातिर विपत् आइसकेपनि खानेकुरा, इन्धन लगायतको अभाव नहोस भन्नको लागि दुई महिना पुग्ने खाद्यान्न अहिले पनि स्टक छ । जिल्लाका अस्पताल, स्वास्थ्यचौकीहरुलाई पनि अलर्ट अवस्थामा राखेका थियौ । त्यसबाट घटनामा परि घाइते भएका र प्रभावितहरुको उद्धार र व्यवस्थापनका लागि कुनै पनि किसिमको कसर बाँकी राखेका छैनौ । राजनीतिक दलहरुलाई समेत जनस्वयंमसेवक खटाउन आग्रह गरेका थियौ । उहाँको समेत एकदमै ठूलो सहयोग हामीलाई प्राप्त भएको छ । सुरक्षा निकायहरुलाई समेत तत्काल घटनास्थल सम्म पुग्नको लागि तयार राखिएको थियो । अत्यावश्यक कुरामा पूर्वतयारी अवस्थाम छ । कालिकोट जिल्लामा विपत् प्रतिकार्य योजना २०७७ कार्यान्वयनको चरणमा थियो । कोभिड र पहिरोका कारण हामी त्यता केन्द्रित भयौ । यसै वर्ष देखि विपत् प्रतिकार्य योजना कार्यान्वयनमा आउने अवगत गराउन चाहन्छु । फिरालो जमिन यहाँको प्रमुख समस्या हो । पूर्वतयारी गर्दागर्दै पनि हामीले ठूलो क्षति व्यहोर्नु प¥यो । यो दैविप्रकोपसँग नसकिने रैछ ।

कालिकोटमा पहिरो मुख्य समस्या देखियो, यसको दीर्घकालीन समाधानको लागि जिल्ला विपत् व्यवस्थापन समितिले के गरेको छ अहिले सम्म ?

अहिले पनि हामी जोखिमको अवस्थामा छौ । तत्कालको लागि हामी पहिरोले प्रभावित बनाइसकेपछि उद्धार र व्यवस्थापनको लागि प्रयासरत छौ । यहाँ दैनिक कुनै नै कुनै घटना घटिरहेको अवस्था छ । मरेकाहरुको शव व्यवस्थापन तथा घाइतेहरुलाई उपचार, वेपत्ताहरुको खोजिमा हाम्रो दैनिकी वितिरहेको छ । पालिका समेत यसमा दैनिक रुपमा लागेका छन् । राहत वितरणमा समेत एकद्धार प्रणाली अपनाएका छौ । जसका कारण वास्तविक पीडित राहत पाएको छ । तपाईँले सोधेको प्रश्नको जवाफ के हो भन्नु हुन्छ भने भोली त दीर्घकालीन रुपमा व्यवस्थापन वा समाधान आवश्यक छ । त्यै भएर मैले जिल्ला विपत् व्यवस्थापन समितिमा यसको कार्ययोजना प्रस्तुत भएर कार्यान्वयनको चरणमा छ । गृह मन्त्रालय मार्फत विपत् प्राधिकरणमा समेत कालिकोटमा विपत् व्यवस्थापनको लागि अनुरोध गरेको छ । अहिले सम्म हेर्दा सबै भन्दा बढि नरहरिनाथ, रास्कोट, तिलागुफामा बढि जोखिम देखिएको छ । तत्कालको लागि प्राविधिक सर्भेको कुरा समेत भएको छ । अबको केही समयमा जिल्लामा विपत् व्यवस्थापन बारेमा छलफल समेत हुँदैछ । यहाँका एकिकृत बस्तीको विकल्प छैन ।