कोभिड प्रयोगशालामा जनशक्तिको अभाव

साउन २७, काठमाडौ – चैतको अन्तिम साता हतारहतारमा स्थापना गरिएको भरतपुर कोभिड–१९ प्रयोगशाला व्यवस्थित गर्न नसक्दा समस्या देखिएको छ । भरतपुर अस्पतालको मातहतमा रहेको सो प्रयोगशाला तत्कालीन समयमा जस्तो अवस्थामा स्थापना गरियो हालसम्म उस्तै अवस्थामा रहेको छ ।

स्थापना ताका चौबिसै घण्टा काम गरेका प्राविधिक जनशक्तिले पछिल्ला दिनहरुमा एक सिफ्टमात्र काम गर्न थालेका छन् । यसका कारण नमूना सङ्कलन गरिएको एक साता नतिजाका लागि कुर्नुपर्ने भएको छ । जनशक्तिको अभावका कारण ढिलाइ भएको उनीहरुको भनाइ छ । प्रयोगशाला प्रमुख डा नीतु अधिकारी प्रयोगशालामा सातजना मात्र प्राविधिक जनशक्ति भएको बताउँछिन् । तीमध्ये चारजना घाइते र बिरामी परेको उनको भनाइ छ ।

चिकित्सकले आराम गर्न भनिएका प्राविधिकहरुले समेत काम गर्नुपर्ने बाध्यता रहेको उनको गुनासो छ । प्रयोगशाला स्थापना गर्दा जिल्लाका अस्पतालमा रहेका प्राविधिकहरुलाई नै जम्मा गरेर प्रयोगशाला सञ्चालनमा ल्याइएको थियो । यसबीचमा खुल्ला प्रतिस्पर्धाबाट दुईजना प्राविधिक भर्ना गरेर चितवन मेडिकल कलेजका प्राविधिकलाई फिर्ता गरिएको छ । अहिले प्रयोगशालामा भरतपुर अस्पतालका चार, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका दुई र स्वास्थ्य कार्यालय चितवनका एकजना प्राविधिक कार्यरत छन् ।

अधिकारी यो जनशक्तिले एक सिफ्टमात्र काम गर्न सक्ने बताइन्। अहिले प्रयोगशालामा दैनिक ११५ हाराहारी नमूनाको परीक्षण हुने गरेको छ । यसका कारण नमूना पठाएकाहरुले नतिजाका लागि एक हप्ता कुर्नुपर्ने बाध्यता रहेको छ । उनले भने, “यही जनशक्तिले सधैँ २४ घण्टा काम गर्न सम्भव हुँदैन ।” हरेक शनिबार प्रयोगशालालाई बन्द गरेर निर्मलीकरण गरिँदै आएको छ । प्राविधिक जनशक्तिले हालसम्म अतिरिक्त प्रोत्साहन भत्ता पनि पाउन सकेका छैनन् । उनले थपिन्, “भत्ताका कारण हामीले काम घटाएका छैनाँै । जनशक्तिकै अभावका कारण काम गर्न सकेनौँ ।”

स्थापनाको समयमा यही जनशक्तिले चौबिसै घण्टा काम गरेर ५७४ स्वाबको नतिजासमेत निकालेको उनले स्मरण गरिन् । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले यसअघि कर्मचारी भर्ना गर्दा वैकल्पिकमा रहेका तीनजना कर्मचारी थप गर्ने तयारी गरिएको बताए ।

जनशक्तिकै अभावका कारण नमूनाको नतिजा निस्कन समस्या भएको भन्दै उनले अब दैनिक नतिजा आउने गरी प्रयोगशाला सञ्चालन गर्ने गरी तयारी गरेको बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जोखिम भत्ता आइनसकेको भए पनि अस्पतालका भत्ता पाउने सबै कर्मचारीलाई विकास समितिबाट पछि पूर्ति गर्ने गरी बजेट निकासा गराएर दुई महिनाको भत्ता दिन लागिएको बताए ।

मन्त्रालयले दुई करोड ३२ लाख बजेट स्वीकृत गरिसकेको भन्दै उनले अस्पतालले चार करोड ५० लाख माग गरेको बताए । चैत २३ गतेबाट सञ्चालनमा आएको प्रयोगशालाले हालसम्म १३ हजार २०० नमूना परीक्षण गरिसकेको छ । यसमध्ये ४०० जनाको कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रयोगशालामा चितवनका अतिरिक्त देशका १८ जिल्लाका बिरामीको स्वाब परीक्षण गरिएको उनले जानकारी दिए ।