विदेशबाट फर्किएका भन्छन् ‘स्वदेशमै केही गर्न चाहन्छौँ’

साउन २०, टीकापुर – विश्वभरि कोरोना भाइरस सङ्क्रमण फैलिएपछि कामको सिलसिलामा विदेशिएका नागरिक आफ्नो देश र घर फर्किरहेका छन् । सङ्क्रमण फैलिएपछि कामको सिलसिलामा भारत तथा तेस्रो मुलुकमा रहेका सुदूरपश्चिमका हजारौँ नागरिक घर फर्किएका छन् । कैलालीको टीकापुर नगरपालिकामा पनि लकडाउनपछि करिब चार हजार नागरिक गाउँ फर्किएका छन् ।

भारतलगायत तेस्रो मुलुकबाट एक हजार महिला र तीन हजार पुरुष टीकापुर भित्रिएका छन् । विदेशबाट घर फर्किएकाहरू विदेशमा बस्दा केही न केही सीप सिकेर आएका छन् । उनीहरूले विदेशमा बस्दा सिकेको सीपलाई स्वदेशमै सदुपयोग गर्न पाए विदेश नजाने मनसाय बनाइरहेका छन् । टीकापुर नगरपालिका–४ इन्द्रैयाका जितबहादुर चौधरीले अब विदेश नफर्कने बरु नेपालमै केही गर्ने सोच बनाएको बताए ।

टीकापुर–५ मनिकापुरका मीनबहादुर साउद पनि छ वर्ष दुबईमा बसेर घर फर्किएका छन् । उनि माथि पनि स्थानीय सरकारले आफ्नो सीपलाई हेरेर काम दिएको खण्डमा त्यसलाई आफ्नै देशमा प्रयोग गर्ने सोचमा छन् ।वडा नं १ का ओमप्रकाश राजवंशी पनि कामको सिलसिलामा २१ वर्ष भारतको दिल्लीमा बसेर घर फर्किए । उनले त्यहाँ बस्दा प्राविधिक सहयोगीको काम गर्नुहुन्थ्यो । उहाँले हाउस किपिङको काम पनि सिकेका छन् । कोरोना महामारीको अप्ठ्यारोमा गाउँ फर्कनुभएका राजवंशी सरकारले आफूले सिकेको सीपलाई नेपालमै सदुपयोग गर्ने योजना बनाए विदेश नजाने बताउछन् ।

टीकापुर नगरपालिकाले वैदेशिक रोजगारीबाट सीप सिकेर फर्केका नागरिकलाई रोजगारी सिर्जना गर्ने नीति लिएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको बजेटमा रोजगारी सिर्जना गर्नका लागि रु ५० लाख रकम विनियोजन गरेको छ । “कोभिड–१९ का कारण स्वदेश फर्किएकाको माग र आवश्यकताका आधारमा रोजगार सिर्जना गर्ने खालका कार्यक्रम बनाउनेछौँ”, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले भने, “स्वदेश फर्किएका युवाले काम गर्न चाहे नगरपालिका काम तथा सीप विकासमा सघाउन तयार छ ।”

नगरप्रमुख रावलले वैदेशिक रोजगारीमा गएर काम सिकेका नागरिकको सीपलाई सदुपयोग गर्न सके स्वदेशमै रोजगारीका अवसर सिर्जना हुने र नगरपालिकाको विकास र आम्दानीमा टेवा पुग्ने बताए । टीकापुर नगरपालिकाको जनसङ्ख्या ९० हजार रहेको छ । तीमध्ये १८ हजार नागरिक रोजगारीको सिलसिलामा भारत तथा अन्य मुलुकमा कार्यरत छन् । रासस