जनस्वास्थ्य विज्ञ पाण्डे भन्छन् ‘कोरोनाबाट सचेत बनौं, देशले सामुदायिक संक्रमण थेग्न सक्दैन ।’

साउन १९, काठमाडौं – नेपालमा दिनप्रतिदिन कोरोना संक्रमितहरुको संख्या बढ्दै गइरहेको छ । हालसम्म प्रदेश २ मा संक्रमितको संख्या बढी देखिएको छ । लकडाउन खुकुलो बनाउनु र उचित सुरक्षा सतर्कता तथा आवतजावत नियमन गर्ने काममा गम्भीर नहुनुले संक्रमण बढ्दै गएको जनस्वास्थ्य बिज्ञहरुले बताएका छन् ।

जनस्वास्थ्य विज्ञ रवीन्द्र पाण्डे भने काठमाडौंमा संक्रमण रोक्नका लागि कर्फ्यु नै लगाउनु पर्ने बताउछन् । उनि भन्छन् ‘संक्रमित फैलिएको जिल्ला र जनघनत्व बढी भएको जिल्लामा १५ दिन कर्फ्यु लगाउनु जरुरी छ, १५ दिनको कर्फ्युले हालसम्मको संक्रमणलाई ब्यबस्थापन गर्छ ’

पाण्डे पहिलाको मोडलको लकडाउन भन्दा अहिलेको समयलाई मध्यनजर गर्दै कर्फ्यु लगाउनु उचित हुने बताउछन् । सरकारले संक्रमण फैलिनबाट रोक्नका लागि परीक्षण बढाएर रेड जोन, एल्लो जोन तथा ग्रीन जोन छुट्याउनु पर्ने आवश्यकता भएको उनी बताउछन् ।

संक्रमितहरुका लागि हरेक सुरक्षित आइसोलेसन सेन्टरको प्रबन्ध गर्ने, हरेक अस्पताल तथा मेडिकल कलेजमा आकस्मिक उपचार, आइसीयु, भेन्टिलेटर, अक्सिजन, ब्लड तथा जनशक्तिलाई तालिम ( आइसीयु र भेन्टिलेटर अपरेट गर्न ) दिनुपर्ने आवश्यकता रहेको उनको भनाई छ ।

कोरोनाबाट हरेक नागरिक सचेत नभए भयावह स्थिति आउने बताउछन् उनि । भन्छन् ‘कोरोनाबाट हरेक नागरिक सचेत हुन जरुरी छ, समयमा नै सचेत नभए देशले सामुदायिक संक्रमण थेग्न सक्दैन ।’