शुरु भो जुम्लामा चिस्यान घर निर्माण

साउन १८, काठमाण्डौँ – जुम्लाको तिला गाउँपालिका–६, ७, ८, ९ नं वडा हालसम्म सडक सञ्जालमा जोडिएका छैनन् । स्थानीय तहले ती ठाउँमा ग्रामीण सडक निर्माण गरे पनि तिलानदीमा पक्की पुल निर्माण नहुँदा सडक सञ्जालमा नजोडिएको हो ।

वडाध्यक्ष सन्तवीर रावतले भने, “अहिले पनि यहाँका नागरिक पिठ्युमै बोकेर दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्री ढुवानी गर्न बाध्य छन् । यस क्षेत्र आलु, मकै र सिमीलगायत कोशेबालीको उर्वरभूमि हो ।”

तिला–९ मानेचौरमा आलु भण्डारण गर्ने चिस्यान घर (रष्टिक स्टोर) निर्माण गर्न थालिको छ । मौसममा आलुको मूल्य नपाइने भएकाले बेमौसममा बिक्री वितरण गर्न चिस्यान घर निर्माणको थालनी गरिएको उनले बताए ।करिव रु ३३ लाख लागतमा १० मेट्रिक टन क्षमताको चिस्यान घर दातृ संस्थाको लगानी र साझेदारीमा निर्माण थालनी गरिएको हो ।

साझेदारी सहयोग केन्द्र (पेस नेपाल) का अध्यक्ष किशोर न्यौपानेका अनुसार गाउँपालिका र स्थानीयवासीको मागका आधारमा चिस्यान घर निर्माणको काम भइरहेको छ । विशेषगरी यस क्षेत्र आलु र मकै उत्पादनको उर्वरभूमि हो । यहाँ उत्पादित वस्तुको बजारीकरणको समस्या भएकाले अनुकूलन कोष, वन तथा वातवरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको रु २२ लाख आर्थिक सहयोगमा १० मेट्रिक टन क्षमताको चिस्यान घर निर्माणको काम शुरु गरिएको उनले जानकारी दिए । उनले भने, “आलु उत्पादन हुने सिजनमा सबै कृषकले एकैपटक बजारमा लैजाने भएकाले मूल्य राम्रो नपाइने र खेर जाने हुँदा भण्डारण गरेर बेमौसममा बिक्री वितरण गर्दा राम्रो मूल्यमा बिक्री गरेर लाभ लिउन् भन्ने उद्देश्यका साथ आलु भण्डारण चिस्यान घर निर्माण गर्न थालिएको हो ।”