आज मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) मनाउँदै

साउन १७, काठमाडौ मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ ।

इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भएकाले मुस्लिम आयोगले शुक्रबार विज्ञप्ति जारी गरी घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेको छ ।