कोरोना सङ्क्रमणको उच्च जोखिममा ‘प्रदेश नं–२’

साउन ९, काठमाण्डौँ कोरोनाको सङ्क्रमण तीव्रगतिमा फैलिएकाले प्रदेश नं–२ उच्च जोखिममा परेको छ । एक सातामा दुई जनाको मृत्यु भएपछि यस प्रदेशमा झनै सन्त्रास देखिएको छ । सप्तरीको सदरमुकाम राजविराजमा एक र पर्साको सदरमुकाम वीरगञ्जका एक जनाको मृत्यु भएपछि कोरोना समुदायमै फैलियो कि भन्ने भय जनमानसमा परेको छ ।

यस प्रदेशमा कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको छ । अहिलेसम्म चार हजार ३२१ जना सङ्क्रमितमध्ये दुई हजार ८८० जना उपचार गराइ घर फर्किसकेका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउने क्रममा राजविराजका ७३ वर्षीय वृद्धको यही साउन १ गते मृत्यु भएको थियो ।

श्वासप्रश्वासमा समस्या आएपछि उनलाई धरानस्थित सो अस्पतालमा भर्ना गरिएपछि उपचारको क्रममा मृत्यु भएको थियो । मृतकका परिवारका सदस्यसहित उहाँको सम्पर्कमा आएका मानिस, छरछिमेकमा सङ्क्रमण पुष्टि भएपछि सन्त्रास फैलिएको हो । त्यसपछि, समुदायमा कोरोनाको सङ्क्रमण फैलिन नदिन स्थानीय प्रशासनले बिहीबारदेखि राजविराजमा निषेधाज्ञा जारी गरेको छ ।

मृतक व्यापारीको छिमेकमै रहेको चियानास्ता पसलका एकै परिवारका चारजनासहित पछिल्लो समयमा २२ जना कोरोनाबाट सङ्क्रमित थपिएपछि आज थप निर्णय गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका निमित्त दुनियालाल यादवले जानकारी दिनुभयो । कोरोनाका कारण राजविराजको वडा नं–६ बढी नै प्रभावित देखिएपछि आज जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठक बस्ने तयारी भइरहेको उनको भनाइ छ ।