पोखरामा बिहीबारदेखि सार्वजनिक बस चल्ने

साउन ७, काठमाण्डौँ – कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने उद्देश्यका साथ झण्डै चार महिनादेखि जारी बन्दाबन्दीका कारण रोकिएका सार्वजनिक यातायातका साधन पोखरामा बिहीबारदेखि सञ्चालन गरिने भएको छ ।

सार्वजनिक सवारी सञ्चालन गर्दै आएको पोखराको सबैभन्दा ठूलो कम्पनी पोखरा यातायात प्रालिले ५० प्रतिशत सार्वजनिक सवारी साधन चलाउने तयारी गरेको कम्पनीका प्रबन्ध निर्देशक अमृत शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरामा कम्पनीमा आबद्ध ३६० सवारी साधन सञ्चालन हुँदै आएका छन् ।

सरकारले सार्वजनिक सवारी साधन सञ्चालन गर्ने भने पनि त्यसका लागि कार्यविधि अझै आइनसकेको बताउँदै शर्माले सो विषयमा कास्कीका प्रमुख जिल्ला अधिकारीसँग थप छलफल गरिने जानकारी दिनुभयो । आधारभूत सुरक्षा सतकर्ता अपनाएर सवारी साधन सञ्चालन गर्ने तयारी गरिएको उहाँको भनाइ छ । पोखरामा विभिन्न यातायात कम्पनीका करीब आठ सय बस तथा दुई हजार ५०० ट्याक्सी सञ्चालन हुँदै आएका छन् ।