पहिरोले गोरखा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

साउन ४, काठमाडौ – गए राति खसेको पहिराका कारण गोरखा– आबुँखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१२ स्थित अबुवा नजीकै माथिबाट खसेको ठूलो पहिराले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मित्रलाल ढकालले जानकारी दिए । “सडकदेखि करीब ७०/८० मिटर माथिदेखि पहिरो खसेको छ”, उनले भने, “पहिरोले सडक पूरै पुरिएकाले पूर्ण रुपमा आवातजावत रोकिएको छ ।”

अवरुद्ध सडक खुलाउन डोजरको सहायताले पहिरो हटाउने काम शुरु भइसकेको प्रमुख ढकालको भनाइ छ । केही दिनदेखि लगातार परेको ठूलो वर्षाका कारण नजीकै रहेको इँटाभट्टा छेवैमा रहेको खोल्सीबाट पहिरो सडकमा खसेको हो ।“अहिले छिटो पहिरो हटाउन दुवैतर्फबाट सफा गर्ने काम भइरहेको छ”, प्रमुख ढकालले भने, “आँबुखैरनीतर्फबाट सडक डिभिजन कार्यालयको मेसिनले काम शुरु गरेको छ भने गोरखा सदरमुकामपट्टिको खण्डबाट पनि अर्को मेसिन लगाएर पहिरो हटाउने प्रयास भइरहेको छ ।” ठूलो पहिरो खसेकाले हटाउन करीब तीनदेखि चार घण्टासम्म समय लाग्ने जनाइएको छ ।