मौद्रिक नीति कार्यान्वयनमा जोड दिन सरोकारवालाहरुको ध्यानाकर्षण

साउन ३, काठमाडौं –नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीतिले कोरोनाका कारण समस्यामा परेको वित्तीय क्षेत्रलाई राहत दिने सरोकारवाला व्यक्तिहरुले बताएका छन् । केन्द्रीय बैंकले सार्वजनिक गरेको नीतिलाई निजी क्षेत्रले स्वागत गर्दै व्यवहारिक कार्यान्वयनमा जोड दिएका हुन् ।

उनीहरुको भनाइ छ, ‘समग्रमा मौद्रिक नीति व्यवहारिक र समयसापेक्ष आएको छ, यसको प्रभावकारी कार्यान्वयनले मात्रै कोरोनाका कारण थलिएका मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ । ’नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज आयोजना गरेको श्रव्यदृश्य अन्तक्र्रियाका सहभागीले मौद्रिक नीतिको खुलेर समर्थन गर्दै यसको वस्तुनिष्ठ कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।
पूर्वगर्भनर डा दिपेन्द्रबहादुर क्षेत्रीले मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई विश्वासमा लिएर केन्द्रीय बैंक अगाडि बढ्नुपर्ने बताए । कार्यान्वयनका क्रममा आइपर्ने जटिलतालाई समाधान गर्न नेपाल राष्ट्र बैंकमा संयन्त्र बनाउन उनले सुझाव दिनुभयो । बैंकर भोजबहादुर शाहले सरोकारवालाको अपेक्षाअनुकूल मौद्रिक नीति आएको बताए ।

नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारीले मौद्रिक नीति सन्तुलित, यथार्थपरक र जिम्मेवार ढङ्गबाट आएको बताए । आर्थिक पुनरुउत्थानका लागि नीतिले सघाउने, मुलुकको अर्थतन्त्रलाई स्वावलम्बन बनाउन र पूँजीबजारलाई गतिशील बनाउन पनि नीतिले सहयोग पु¥याउने विश्वास व्यक्त गरे । सहुलितपूर्ण कर्जालाई दोब्बर पारेर जाने नेपाल बैंकको तयारी रहेको उनको भनाइ थियो ।
पूर्वबैंकर अनलराज भट्टराईले निजी क्षेत्रलाई थप उत्साहित बनाउने ढङ्गबाट मौद्रिक नीति आएको बताए ।

कोभिड–१९ का कारण व्यापार व्यवसाय प्रभावित हुँदा नगद प्रवाहमा देखिएको सङ्कुचनलाई नीतिले सम्बोधन गरेको बताए । ‘नीतिमा कोभिडबाट थलिएको व्यापार व्यवसायलाई चलायमान बनाउनका लागि मौद्रिक उपकरणको प्रयोग गरिएको छ । उनले भने ‘यसले वित्तीय सन्तुलन कायम राख्दै व्यापार व्यवसायलाई सहुलियत पनि दिएको छ । ’

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले मौद्रिक नीतिलाई सकारात्मकरूपमा लिँदै निजी क्षेत्रको अधिकांश माग नीतिले सम्बोधन गरेको बताए । नीतिले कोभिडबाट अतिकम, मध्यम र उच्च प्रभावित व्यवसायीलाई ठूलो राहत दिएको उनको भनाइ थियो । ‘आज निजी क्षेत्र उत्साहित छ, हामीले यसलाई सराहनीय मानेका छौं’ उनले भने ‘कोभिड–१९ प्रभावित अर्थतन्त्रका लागि रि–फाइनान्सिङसम्बन्धी कार्यविधि, निर्देशिकालाई सहज बनाउँदै व्यवसायीमैत्री बनाइनुपर्छ । ’

नेपाल उद्योग वाणिज्य महासङ्घको बैंक, वित्त तथा बीमा कमिटीका सभापति सौरभ ज्योतिले अहिलेको विषम परिस्थितिमा उद्योगी व्यवसायीलाई राहत दिने ढङ्गबाट मौद्रिक नीति आएको बताए । “यसले सबै निजी क्षेत्रको समस्याको समाधान गरेको छ”, उनले भने। अर्थतन्त्रलाई चलायमान बनाउन कोभिडबाट थलिएका लघु, साना तथा मझौला उद्यमीलाई सहुलियत पुर्नकर्जा उपलब्ध गराउनेतर्फ सरकारको ध्यान जानुपर्ने उनको भनाइ थियो ।

उद्योग व्यवसाय बन्द गर्दा व्यवसायीलाई सहजीकरण गर्नुपर्नेमा त्यसतर्फ मौद्रिक नीतिले ध्यान दिन नसकेको भन्दै उनले एउटा व्यवसाय बन्द गरेर अर्को उद्योगमा लगानी गर्न सहज हुने नीति बनाइनुपर्छ । बैंक तथा वित्त परिसङ्घका सभापति तथा उद्योगी पवन गोल्यानले कोभिडले थला परेको अर्थतन्त्रलाई उकास्ने गरी नीति ल्याइनु स्वागतयोग्य रहेको बताए । कुल कर्जाको करिब १५ प्रतिशत कृषि, १० प्रतिशत जलविद्युत्मा लगानी गर्ने, सहुलियतपूर्ण कर्जालाई थप सहजीकरण गर्ने नीति सराहनीय रहेको उनको भनाइ छ । ‘मौद्रिक नीति कार्यान्वयन गर्न आवश्यक पर्ने निर्देशिका तत्काल ल्याएर कार्यान्वयनमा जानुपर्छ, तबमात्र अर्थतन्त्र चलायमान हुन्छ ।’ उनले भने ।
रासस