सचिवालयबाटै समाधान खोज्दै प्रधानमन्त्री ओली

साउन ३, काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। दिउसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बोलाइएको छ ।

शुक्रबार बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको विशेष छलफल भएको थियो । त्यसपछि भोलि (४ साउन ) सम्म स्थायी कमिटी वैठक स्थगित गरेर आजलाई सचिवालय वैठक बोलाइएको हो । आजको सचिवालय बैठकमा विवाद समाधानका लागि विशेष छलफल हुने बताइएको छ ।

स्थायी समिति बैठक स्थगित गरि केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भइरहेका बेला ओली र दाहाल पुनः सचिवालयतर्फ नै ‘ब्याक’ हुनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।  नेताहरू पुनः सचिवालय वैठकमै फर्किनुलाई कतिपयले ‘आइसब्रेक’ का रूपमा पनि लिएका छन् । आज बस्ने सचिवालय वैठकमा घनिभूत छलफल हुने र सोही निर्णयका आधारमा दुवै पक्ष अघि बढ्ने तयारी भइरहेको बुझिएको छ ।

यस अघि प्रधानमन्त्री ओलीले आफूले कुनै हालत दुवै पद नछाड्ने बताउंदै आएका थिए । यता सचिवालय तथा स्थायी कमिटिका अधिकांश सदस्यहरूले भने ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् ।