पूर्वसांसद गुरुङको निधनप्रति शेरबहादुर देउवाद्वारा दुःख व्यक्त

साउन ३, काठमाडौ-   नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल भूतपूर्व सैनिक सङ्घका पूर्वअध्यक्ष एवं पूर्वसांसद मेजर दीपकबहादुर गुरुङको निधनप्रति दुःख व्यक्त गरेका छन् । पूर्वसांसद गुरुङको शुक्रबार काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सभापति देउवाले एक शोक विज्ञप्तिमार्फत गुरुङको निधनबाट काँग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरे ।

विसं १९९३ असार १० गते कास्कीको नार्माजुन गाविस–३ मा जन्मनुभएका गुरुङ ब्रिटिश आर्मीबाट रिटायर्ड मेजर थिए । उनले तत्कालीन समयमा बेलायतकी महारानी एलिजावेथ द्वितीयको सेरेमोनियल एडिसीको रुपमा समेत कार्य गर्नुका साथै लामो सैनिक जीवनपछि भूपू सैनिक समुदाय र जनताको सेवामा समर्पित भएर उल्लेखनीय काम गरेका थिए।

ब्रिटिश गोर्खाको समान पेन्सनको आन्दोलन तथा गोर्खालीले पु¥याएको योगदान र बलिदानको कदर गर्दै आवासीय भिसाका लागि गरिएको आन्दोलनको उनी एक नेतृत्वकर्ता थिए । स्व गुरुङ नेपाल भूतपूर्व सैनिक सङ्घको तीन कार्यकालसम्म अध्यक्ष रहेका थिए र उनले नेपालको लोकतान्त्रिक आन्दोलन तथा पार्टीको सङ्गठनमा सक्रिय भूमिका निर्वाह गरेको पार्टी कार्यालयले जनाएको छ ।रासस