‘लुतो फाल्ने’ पर्व साउने सङ्क्रान्ति मनाइँदै

साउन १, काठमाडौ – झरी रोकिएको छ । तीन दिनदेखि पानी पर्न छाडेर मौसम सफा भएपछि महोत्तरीको सुदूर उत्तरी क्षेत्रमा साउने सङ्क्रान्तिका दिन ‘लुतो फाल्ने’ पर्वको उल्लास छ । जिल्लाको उत्तरवर्ती क्षेत्रका बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा साउने सङ्क्रान्तिका दिन मनाइने ‘लुतो फाल्ने’ परम्परालाई उल्लासमय बनाउन युवायुवती तयारीमा लागेका देखिँदा छन् ।

खासगरी पहाडी मूलका नेपाली हिन्दू परम्परामा मनाइने यो पर्वमा साउने सङ्क्रान्तिका दिन साँझ लुतेसरो, कुकुरडाइनो, भलायो र कुरिलोसहितका जङ्गली वनस्पतिमा आगो सल्काएर अगुल्टो खोल्सा कटाउने गरी हुत्याउँदै ‘लुतो जा’ भन्दै कराइने चलन छ । सूर्यास्तपछि साँझपख मनाइने यो परम्पराको तयारीका लागि अहिले एकाबिहानै बस्तीबस्तीबाट युवायुवतीको समूह ती वनस्पतिको खोजमा वन क्षेत्र पसेका छन् । हिन्दू परम्पराको पर्व भए पनि लुतो फाल्ने वनस्पति लिन जङ्गल जाने समूहमा तराईकै मूल बासिन्दा कोइरी, यादव, लोहार, हजाम, पासवानसहितका जाति समूदाय र फरक धर्म परम्पराका इस्लाम धर्मावलम्बी युवायुवती पनि सरिक देखिएका छन् । एक ठाउँमा बस्दा आपसी सद्भाव अभिवद्धिमा सांस्कृतिक घुलमिलले सजिलो बनाउने हुँदा आपूmहरु लुतो फाल्ने पर्वको तयारीमा लागेको भङ्गाहाका बासिन्दा २९ वर्षीय इस्लाम धर्मावलम्बी युवा शेराजुल राइनले बताए ।

आफ्ना बस्तीमा नयाँ युवापुस्तामा हेलमेल र अपनत्व बढेको देख्दा पुराना बाबु पुस्ताका अभिभावक पनि खुशी देखिएका छन् । तराईमा मनाइने छठ, चौरचन र जुडशितललगायतका पर्व र इस्लाम धर्मावलम्बीका इद, बकरिद र मुहर्रमजस्ता पर्वमा पहाडी मूलका युवाको र पहाडी मूलका तराईका बासिन्दाले मनाउने पर्वमा मधेशी र इस्लाम युवायुवतीको हुने सरिकताले चाडबाड थप रमाइलो हुने र आपसी सहकार्य बढ्ने भङ्गाहा–४ कै सामाजिक, राजनीतिक कार्यकर्ता मुकुन्द दाहाल बताउँछन् ।

जिल्लाको उत्तरी भेगका पहाडी र मधेशी मूलका छ्यासमिस बस्तीमा एकअर्काका संस्कृतिक पर्व अब सबैका साझा बनेका छन् । फरकफरक सांस्कृतिक परम्पराका नयाँ पुस्तामा देखिएको घुलमिल र हिमचिमले पुराना राजनीतिक आग्रह र पहाडी मधेशी भनेर हेर्ने , सोच्ने दृष्टिकोण हराउँदै, मेटिदै जाँदा खुशी लाग्ने गरेको बर्दिवास–९ पशुपतिनगरका सामाजिक कायकर्ता सुरजसिंह कुशवाहाले बताए ।

जिल्लाको यो क्षेत्रमा साउने सङ्क्रान्तिका दिन धेरैजसो खिर खाने चलन छ । जिल्लाको उत्तरी क्षेत्रमा सघन बसोबास रहेका मगर जातिले त साउने सङ्क्रान्ति पर्व विशेषरुपमै मनाउने गरेका छन् । मगर जातिमा यस पर्वका दिन विवाह गरिएका छोरीचेलीलाई बोलाएर ख्वाउने परम्परा छ । बिहानदेखि साँझसम्म विभिन्न परिकार खाने–ख्वाउने गरिएपछि साँझमा भने बस्तीकै युवायुवती भेला भएर हल्लीखल्ली गर्दै ‘लुतो फाल्ने’ पर्व मनाउँछन् । फरकफरक धर्म, संस्कृति र परम्पराका भए पनि एकअर्काका पर्वमा उत्तिकै रमाएर सरिक हुने नेपाली समाजको सहकार्य संस्कृति नमूना नै रहेको बर्दिवास जनता बहुमुखी क्याम्पसका प्रचार्य ९क्याम्पस प्रमुख० तोबहादुर ठकुरी बताउछन् ।