सर्वोच्चद्वारा एन्फाको नाममा कारण देखाउ आदेश

असार २९, काठमाडौं –अखिल नेपाल फुटबल संघ (एन्फा) को नाममा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । अधिवक्ता सुजित केसीले दायर गरेको एन्फाविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले एन्फाको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता केसीले गत असार २२ गते सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए । केसीले एन्फासहित अध्यक्ष कर्मा छिरिङ शेर्पा र प्रवक्ता किरण राई गरी तीन जनालाई विपक्षी बनाउँदै मुद्दा दर्ता गराएका थिए । न्यायाधीश मनोज कुमार शर्माको एकल इजलासले आदेश जारी हुनु नपर्ने आधार र कारणको लिखित जवाफ १५ दिनभित्र पेश गर्न भनेको छ ।

केसीले माघ २१ गते रौतहटको सरकारी जग्गा कब्जा गरेर महिला फुटबल एकेडेमी बनाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । एन्फाको त्यस बैठकले एकेडेमीबारे ३ निर्णय गरेको थियो । जसमा निर्माण सम्पन्नको प्रमाणपत्र बुझाएकोले त्यसलाई स्वीकृत गर्ने, ३९ लाख ५७ हजार १ सय १७ रुपैँयाँ घेरा बार र गार्ड हाउस निर्माण तथा ४५ लाख ९७ हजार ७ सय १ रुपैँयामा फ्लोरिसिङको काम पनि टेक प्रालिलाई नै ठेक्का दिने अर्को निर्णय गरेको छ । त्यस्तै सो बैठकले सो एकेडेमीमा ५७ लाख ८६ हजार ८ सय ३ रुपैयाँ लागतमा फर्निसिङका लागि भनि नयाँ टेन्डर आह्वान गर्ने निर्णय समेत गरेको थियो ।