यातायात व्यवसायी भन्छन् – यथास्थितिमा यातायात सञ्चालन गर्न सकिँदैन

 

असार २६, काठमाडौ – सरकारले पूर्वतयारीबिना सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको भन्दै यातायात व्यवसायीले यातायात नचलाउने बताएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासङ्घले यहाँ आज पत्रकार सम्मेलन गरी यथास्थितिमा यातायात सञ्चालन गर्न नसक्ने भन्दै पाँचबुँदे माग अघि सारेको छ ।

सरकारले पूर्व तयारीविना सार्वजनिक यातायात सञ्चालन गर्न भनेर अव्यवहारिक र खतरनाक कदम चालेको महासङ्घका अध्यक्ष होमप्रसाद अधिकारीले बताए । आफूहरुलाई हचुवाका भरमा यातायात सञ्चालन गर्न भनिएको बताउँदै उनले भने ‘हामी गाडी चलाउँदैनौं, बरु सरकारलाई चाबी बुझाउँछौं ।’

यातायात व्यवसायीले विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसार यातायात मजदुर र आम यात्रुको स्वास्थ्यलाई दृष्टिगत गरी सम्पूर्ण व्यवस्था हुनुपर्ने, बैंक किस्ता तथा ब्याजमा पूर्णतालिकीकरण हुनुपर्ने, कागजपत्र, कर राजश्वमा बन्दाबन्दी अवस्थाको कर छुट हुनुपर्ने र बन्दाबन्दीको अवस्थाको बीमा प्रिमियम छुट समयावधि समायोजनलगायत विभिन्न माग गरेका छन् ।

महासङ्घका महासचिव भरत नेपालले यातायात व्यवसायीसँग कुनै छलफल नै नगरी सरकारले एकपक्षीय रुपमा गरेको निर्णय मान्य नहुने बताए ।