‘काठमाडौंमा कोरोनाको जोखिम वढिरहेको छ, बिशेष सर्तकता अपनाऔ’ जनस्वास्थ्य विज्ञ पाण्डे

असार २४, काठमाडौ –नेपालमा दिनप्रतिदिन कोरोना संक्रमितहरुको संख्या बढ्दै गइरहेको छ । क्षेत्रगतरुपमा हेर्दा काठमाडौंमा पनि कोरोना संक्रतिहरुको संख्या बढिरहेको छ । बाक्लो जनघनत्व रहेको काठमाडौंमा लकडाउन खुकुलो हुनु र बाहिरी नाकाबाट मानिसहरु प्रवेश गर्नुले उपत्याकामा कोरोनाको जोखिम बढ्दै गएको जनस्वास्थ बिज्ञहरुले बताएका छन् ।

यसै सन्र्दभमा काठमाडौंमा कारोना भाइरसको जोखिम कत्तिको छ ? नियन्त्रणमा के कस्ता प्रयास आवश्यक छ ? यि र यस्तै विषयका जिज्ञासा हामीले जनस्वास्थ्य विज्ञ डा. रबिन्द्र पाण्डेसंग राखेका छौं । प्रस्तुत छ उनिसंग गरिएको कुराकानीको सम्पादित अंश ।

अहिलेका देशभरि कोरोना संक्रमितको संख्या बढ्दो छ । काठमाडौंमा पनि संक्रमितको संख्या उकालो लाग्दै छ । यस्तो अवस्थामा काठमाडौंमा कोरोनाको जोखिम कत्तिको छ ?

अहिलेको समयमा काठमाडौंमा कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । बाहिरी नाकाबाट काठमाडौं भित्रिने ब्यक्तिहरुमा संक्रमण देखिनु नौला कुरा भएन । तर ट्राभल हिस्टी नभएका ब्यक्तिहरुमा पनि संक्रमण देखिएको छ । यसले गर्दा काठमाडौमा समुदायमा पनि संक्रमण फैलिसकेको देखिएको छ ।

काठमाडौंका अधिकांश अस्पतालहरुमा पनि कोरोना पुष्टि भइसकेको छ । यसरी हेर्दा काठमाडौं कोरोनाको उच्च जोखिममा रहेको स्पष्ट हुन्छ । काठमाडौंमा जनघनत्व धेरै भएको कारणले ह्वात्तै संक्रमीत बढ्ने सम्भावना रहेको छ । नियन्त्रणको प्रर्याप्त प्रयास सरकारको देखिदैन । सरकारी कदम उचित नभएकाले पनि कोरोना भाइरसको माहामारी काठमाडौले भोग्नु पर्ने देखिन्छ ।

त्यसो भए तपाइको भनाइ अनुसार काठमाडौंमा कोरोना नियन्त्रणमा सरकार चुकेको छ ?

अत्यधिक जनघनत्व भएको क्षेत्र काठमाडौंमा कोरोना नियन्त्रणका लागि सरकारले बिशेष ख्याल गर्नु पथ्र्यो । तर सुरक्षा प्राथमिकताको आधारमा काठमाडौं कहिल्यै पनि सरकारको प्राथमिकतामा परेन । बाहिरी नाकाबाट ब्यक्तिहरु काठमाडौं भित्रिने क्रम बढ्दो छ । उनिहरुको न परिक्षण न ट्राभल हिस्ट्री केहि छैन । क्वारेन्टाइनको ब्यवस्था समेत छैन । लकडाउनलाई प्रभावकारी बनाउने तर्फ पनि सरकार सचेत छैन । यसरी हेर्दा हरेक ठाउंमा कोरोना नियन्त्रणका लागि सरकारको कमजोरी देखिन्छ ।

हिजो दिनलाई छोडेर अबका दिनमा कोरोना नियन्त्रणका लागि सरकारले के कस्त कदम चाल्न आवश्यक छ ?

काठमाडौंमा कोरोना नियन्त्रणका लागि धेरै ढिला भइसकेको छ । सरकारले परिक्षण बढाउने घोषण गरेपनि झन घटाउने तर्फ अग्रसर देखिन्छ । अब सरकारले कडा र प्रभावकारी कदम चाल्नु आवश्यक छ ।  नागरिकलाई भौतीक दुरी कायम गराउनु पर्दछ । सरकारी कार्यलय देखि किराना पसल सम्म भिडभाड बढेको छ । यस्ता किसिमका भिडभाड रोक्नका लागि सरकारले अनुगमन गर्नु पर्दछ । अर्को कुरा हरेक ब्यक्तिलाई माक्स नलगाएमा जरिवाना लिनु पर्ने कडा नियमको व्यवस्था गर्न आवश्यक छ ।

यसका साथै सरकारले परिक्षणको दायारा र क्वारेन्टाइनको क्षमता पनि बढाउनु पर्दछ । बाहिरबाट आउने ब्यक्तिहरुलाई निश्चित समयसम्म क्वारेन्टाइमा राखी परिक्षण गरेर मात्र घर पढाउनु पर्दछ ।

काठमाडौंबासीले घर भित्र र बाहिर आफुलाई कसरी सुरक्षित बनाउन सक्छन ?

लकडाउन खुकुलो भएसंगै नागरिकहरु पनि लापरवाही गरिरहेका छन् । नेपालमा दोस्रो संक्रमित भेटेपछि करिब ३ तीन महिना लकडाउन लागु भयो । त्यो समयमा नागरिकहरुमा पनि केहि डर र क्रास थियो । तर अहिले कोरोना संक्रमितहरु १५ हजार पुग्दा नागरिहरुमा डर हराएको देखिन्छ ।

कोरोनाले ब्यक्ति, उमेर, पद हेर्दैन केहि हेर्दैन । यसकारण हरेक नागरिक जिम्मेवार हुनुपर्दछ । रोगसंग खेलबाड गरेर अनावश्यक हिड्न हुदैन । घर भित्र पनि सकेसम्म भौतीक दुरी कायम गरेर बस्नुपर्दछ । बारम्बार सावुन पानी हात धुनुपर्दछ ।

घरबाहिर त झन बिशेष सर्तकता अपनाउनु पर्दछ । अनावश्यक घरबाहिर निस्कन हुदैन । यदि काममा निस्केमा अनिवार्य माक्सको प्रयोग गर्नुपर्दछ । भिडभाड हुने ठाँउंमा भरसक नजाने । मानिसहरु एक आपसमा भेट्दा भौतिक दुरी अनिवार्य कायम गर्नुपर्दछ । कार्यलयमा होस या घरमा झयाल ढोका खुल्ला राखेर बस्नुपर्दछ । सावुन पानी नहुदा सेनिटाइजरको प्रयोग गर्नु पर्दछ ।

पछिल्लो समय बालबालिकामा पनि कोरोना भाइरसको संक्रमण बढ्दो छ । घरमा बालबालिकालाई कसरी सुरक्षित राख्न सकिन्छ ?

ठिक भन्नु भयो, बालबालिकामा पनि कोरोना संक्रमण बढ्दो छ । काठमाडौंमा ट्राभल हिस्ट्री नभएका बालकमा पनि कोरोना पुष्टि भइसकेको छ । बालबालिकालाई कोरोना मुक्त राख्नका लागि अभिभावक बिशेष सचेत हुनुपर्दछ । बाहिर जाने आउने अभिभावकहरुले सकेसम्म भौतिक दुरी कायम गर्नुपर्दछ । बालबालिकालाई बाहिर हिडाउदा माक्सको प्रयोग गराउनु पर्दछ । यदि बच्चाले केहि छोएमा सेनिटाइजरको प्रयोग गराउनु आवश्यक हुन्छ ।

कोरोना सक्रमण कहिले सम्म रहला ? केहि भन्न सकिन्छ ?

अहिलेको अवस्थालाई नियालेर आकंलन गर्दा कोरोना लामो अबधिसम्म रहने देखिन्छ । तर कोरोनाको अवस्था सधैं एकनासको भने नरहने अध्ययनले देखाएको छ । नेपालको सन्दर्भमा कुरा गर्दा साउनको अन्तिम तिर या भनौ भदौमा यो भाइरस पिक आवरमा पुग्ने देखिन्छ । त्यसपछि भने केहि मात्रामा निर्मुल हुदैं जाने देखिन्छ ।