पानी पर्दा तटीय क्षेत्रका नागरिक त्रासमा

असार २४,काठमाडौं – कैलालीका तटीय क्षेत्रका नागरिक पानी पर्दा त्रासमा बस्ने गरेका छन् । सोमबार रातिदेखि लगातार वर्षा भएपछि तटीय क्षेत्रका नागरिक बाढीको त्रासले रातभर सुत्न नसकेको बताउँछन् । चैतमै नदी कटान शुरु भएको टीकापुर–८ श्रीलङ्काका नागरिक पानी पर्दा चिन्तित हुन्छन् । ‘नदीले कटान तीव्र पारेको छ । नदीले धार परिवर्तन गरेर जमीनमा बगिरहेको छ’ स्थानीय झपट बुढाले भने ‘पानी पर्दा बाढी आउने डरले सुत्दैनौ । ’

सोमबार रातिदेखि निरन्तर वर्षा भएपछि कर्णाली नदीमा पानीको बहावसमेत बढेको छ । कर्णाली नदीले कटान शुरु गर्न थालेपछि श्रीलङ्कावासी रातभर निदाउन सक्दैनन् । ‘पानी परेको बेला नदीको सतह बढ्ने र बाढी गाउँ पस्ने डरले निदाउन सक्दैनौ’ स्थानीय शिक्षक पदम बुढा भन्छन् ‘पानी धेरै परेको दिन हामी सुत्दै सक्दैनौँ, अग्लो ठाउँमा गएर रातभर बसिराख्छौ । वर्षायाम त्रासमै बित्छ । वर्षा भइरहेको दिन ध्यान नदीतिरै हुन्छ । ’

पहाडी क्षेत्रमा पानी परेपछि नदीमा पानीको सतह बढ्ने र कटान शुरु हुन्छ । यहाँ स्थानीयको सयौँ बिघा जमीन नदीमा मिसिएको छ । बर्सेनि नदी कटानले श्रीलङ्काका खड्क साउद, कालु साउद, गोपाल साउद, बलवीरे टमट्टा, डंग्ला चौधरी र दीपेन्द्र भण्डारीसहित दर्जनौँ किसानको सयौँ बिघा जमीन नदीमा मिसिएको छ । ‘नदीले बर्सेनि २० बिघाभन्दा बढी जमीन कटान गर्छ । साविक धनसिंहपुर गाविसको वडा नं १ पूरै कटान भएर नदी बगिरहेको छु ’ कालु साउदले भने ‘पछिल्ला तीन वर्षमा मात्रै हजार बिघाजति जमीन कटान भएको छ छ । ’नदी कटानले यहाँको खेतीका लागि उर्वरभूमि बालुवामा परिणत हुँदै गएको छ ।

कैलाली र बर्दियाको सिमानामा पर्ने श्रीलङ्का बाढी प्रभावित क्षेत्र हो । बर्दियाले आफ्नो क्षेत्रमा कर्णाली नदीबाट दक्षिणतर्फ तटबन्ध निर्माण गरेपछि कैलालीतर्फ नदीको कटान तीव्र भएको हो । यहाँ विसं २०६० बाट नदीले कटान शुरु गरेको हो, तर पछिल्लो तीन वर्षयता कटान तीव्र छ । नदीले कटान तीव्र पारेपछि यहाँका स्थानीयवासीले स्थानीय तहदेखि जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, प्रदेश सरकार हुँदै सङ्घीय सरकारसँग पटक–पटक गुहार मागे पनि दीर्घकालीन समाधान नभएको उनीहरुको गुनासो छ ।

कर्णाली नदीले श्रीलङ्कामा वर्षभरि नै कटान भइरहेको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए । ‘कटान नियन्त्रणका लागि प्रदेश र सङ्घमा पहल गरिरहेको छु, सुनुवाइ नहुँदा किसानले उर्वरभूमि गुमाइरहेका छन् ’ ठकुल्लाले भने ‘बर्दियातिरबाट भएको तटबन्धभन्दा तलबाट तीव्र कटान भइरहेको छ । नदीको कटान नियन्त्रण नभए श्रीलङ्काको बस्ती नै जोमिखमा पर्छ ।’
नदी कटान तीव्र भएपछि केही दिनअघि स्थानीयवासी आफैँले जैविक तटबन्ध गरे । नदी गाउँ पस्ने जोखिम बढेपछि स्थानीयस्तरमै रहेका झालापाता र काठको प्रयोग गरी तटबन्ध बनाएको स्थानीयवासी बताउँछन् ।

कर्णाली नदीमा सिँचाइ आयोजनाले विगत पाँच वर्षदेखि तटबन्ध निर्माणको काम गर्दै आएको छ । यसअघि करिब ६०० मिटर तटबन्ध निर्माण भएको छ । आयोजनाले सिद्धि साइ कन्ट्रक्शनलाई एक हजार ६०० मिटर तटबन्ध निर्माणका लागि ठेक्का दिएको थियो ।

निर्माण कम्पनीले समयमै तटबन्ध नगर्दा बस्ती जोखिममा परेको हो । ‘हरेक वर्ष निर्माण कम्पनीलाई दबाब दिँदै आएका छौ ’वडाध्यक्ष ठकुल्लाले भने ‘ठेकेदारको लापरवाहीले समयमै तटबन्ध निर्माण भएन, तटबन्ध नबन्दा बस्ती सखाप हुने चिन्ता बढेको छ ।’ वडाध्यक्ष ठकुल्लाले बस्ती कटानबाट कसरी जोगाउन सकिएला भनी सिँचाइ आयोजना र नगरपालिकाबीच छलफल भएको बताए । रासस