उपत्यकामा कोरोना जोखिम बढ्दैं , हरेक एक घण्टामा २ जना संक्रमित थपिंदै

असार २३, काठमाडौं – कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण उपत्यकामा बढेको पाइएको छ । उपत्यकामा मानिसहरु भित्रिएसँगै सङ्क्रमित बढेको पाइएको हो । अहिले दैनिक उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । आइतबार ३० जना सङ्क्रमित देखिएका थिए भने सोमबार ५४ जनामा देखिएको छ ।

सोमबार सङ्क्रमितमध्ये ५४ जना उपत्यकाका रहेका छन् । काठमाडौँमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जनामा सङ्क्रमण देखिएको हो । तीमध्ये नेपाल वायु सेवा निगमका तीन पाइलटसहित सात जना पनि रहेका छन् । साउदी अरव, कुवेतबाट मानिस उद्धार गरेर नेपाल ल्याउँदा उनीहरुमा सङ्क्रमण सरेको हुन सक्ने बताइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकामा सङ्क्रमित बढेसँगै परीक्षणको दायरा बढाइएको बताए। उनले सङ्क्रमित बढेसँगै उपत्यकाका समुदायमा सङ्क्रमण देखिएको हो वा होइन भन्नका लागि १० ठाउँबाट स्बाव सङ्कलन गरी परीक्षण गरिएको बताए ।

उनका अनुसार तिनकुने र ललितपुरको नख्खुका २२८ जनामा स्बाव सङ्कलन गरी पीसीआर परीक्षण गर्दा सङ्क्रमण देखिएको छैन । यस्तै सात ठाउँमा गरिएको परीक्षणका नतिजा आउन वाँकी रहेको छ।

अहिलेम्म नेपालमा १५ हजार ९६४ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये ६ हजार ८११ जना निको भई घर फर्किसकेका छन् भने ३५ जनाको सङ्क्रमणकै कारणले मृत्यु भएको छ ।