सिमानाकामा जारी छ उद्धार

असार १९, काठमाडौ – कोरोनाका जोखिमका कारण कैलालीको त्रिनगर भन्सार सिमानाकाबाट स्वदेश भित्रिने नेपालीको उद्धार जारी रहेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोसीले भारतका विभिन्न शहरबाट नेपाली स्वदेश भित्रिने क्रम जारी रहेका जानकारी दिए ।

उनले भन्सार नाकाबाट हालसम्म जम्मा ८६ हजार ५०० जना स्वदेश भित्रिएका बताए । “जेठ ११ गतेदेखि २६ गतेसम्म सिमानाका हुँदै भित्रिने नेपालीको सङ्ख्या धेरै भएको भए पनि अहिले भने भित्रिनेको सङ्ख्या घट्दो क्रममा रहेको छ”, उनले भने, “अहिले दिनमा २०० को हाराहारीमा नेपाली स्वदेश भित्रिरहेका छन् ।”

शुरुका दिनमा सोही नाकाबाट एकै दिनमा छ हजारसम्म पनि भित्रिएका तथ्याङ्क रहेको छ । भारतका धेरैजसो ठाउँमा लकडाउन खुकुलो भई उनीहरुले काम गर्ने अवसर मिलेकाले पनि अहिले भित्रिनेको सङ्ख्या कम रहेको हुनसक्ने अनुमान गरिएको छ ।