अमेरिकामा एकै दिन रेकर्ड ५० हजार बढी संक्रमित फेला

असार १९, एजेन्सी – अमेरिकामा एकै दिन थप ५० हजारभन्दा बढीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो ९ दिनमा ६ पटक एकै दिन भेटिएको संक्रमितको संख्यामा नयाँ रेकर्ड बनिरहेको छ । देशका सबैभन्दा धेरै जनसंख्या भएका राज्यहरुमा संक्रमितको संख्या बढेसँगै संक्रमितको सख्यामा रेकर्ड वृद्धि भएको हो ।

न्युयोर्क टाइम्सका अनुसार कम्तिमा ७ राज्यमा संक्रमितको संख्यामा रेकर्ड वृद्धि भएको छ । बिहीबार अलास्का, अर्कान्सास, फ्लोरिडा, जर्जिया, मोन्टाना, साउथ क्यारोलाइना र टेनेसीमा संक्रमितको संख्यामा रेकर्ड वृद्धि देखिएको छ ।

यसअघि उत्तरपूर्वमा संक्रमण तीव्र गतिमा फैलिरहेकोमा यतिबेला दक्षिण र पश्चिममा पनि संक्रमितको संख्या बढिरहेको छ । मंगलबार संक्रामक रोगका विशेषत्र डा. एन्थोनी फाउसीले देशमा हरेक दिन १ लाख बढी संक्रमित फेला पर्न सक्ने चेतावनी दिएका थिए ।