कौरा संरक्षण पत्रकारिता पुरस्कार रानालाई

असार १७, काठमाडौ – यस वर्षको ‘राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७७’ तनहुँका पत्रकार प्रताप रानामगरलाई प्रदान गरिने भएको छ । राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालद्वारा स्थापित तथा नेपाल मगर पत्रकार सङ्घ, कास्कीद्वारा सञ्चालित उक्त पुरस्कार रानालाई दिने निर्णय भएको सङ्घका अध्यक्ष रुद्रबहादुर हितानमगरले जानकारी दिए ।

गण्डकी प्रदेशको लोकप्रिय मौलिक कौरा नाचको संरक्षण र प्रवद्र्धनमा पत्रकारितामार्फत योगदान दिने पत्रकारलाई यो पुरस्कार प्रदान गरिँदै आएको छ । साउन १ गते प्रदान गरिने सो पुरस्कारको राशि रु १० हजार नगद र ताम्रपत्र रहेको छ । कान्तिपुर टेलिभिजनमा आबद्ध रानामगर नेपाल मगर पत्रकार सङ्घको गण्डकी प्रदेश संयोजक, नेपाल पत्रकार महासङ्घ, तनहुँ शाखाको कोषाध्यक्ष र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) तनहुँ शाखाको अध्यक्षमा क्रियाशिल छन् ।