शिक्षकद्वारा राहत कोषमा १५ लाख सहयोग

 

असार १०, स्याङ्जा – वालिङस्थित सामुदायिक विद्यालयका शिक्षकहरूले वालिङ नगरपालिकाको राहत कोषमा हालसम्मकै सर्वाधिक राशि उपलब्ध गराएका छन् ।

नगरपालिकाले स्थापना गरेको कोभिड(१९ राहत कोषमा वालिङ नगरभित्रका ८० सामुदायिक विद्यालयका स्वीकृत दरबन्दीमा कार्यरत स्थायी, अस्थायी, राहत, साविक उच्च माध्यमिक विद्यालय र प्राविधिक धारसमेतका शिक्षकले १५ लाख ३४ हजार ९ सय ८३ रुपैयाँको चेक मङ्गलबार वालिङ नगरप्रमुख दिलीपप्रताप खाँण तथा उपप्रमुख कल्पना तिवारीलाई हस्तान्तरण गरेका हुन् ।

विश्व समुदाय कोरोना भाइरससँग जुधिरहेको अवस्थामा नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरुको तर्फबाट पनि केही सहयोग गर्नुपर्छ भन्ने भावनाले राहत कोषमा रकम जम्मा गरेको नेपाल शिक्षक सङ्घका जिल्ला अध्यक्ष एवं रणवीर जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मीले बताए ।

नगरभित्रका मावि तह वा सो सरहका शिक्षकको ५ दिनको र अन्य शिक्षकको ३ दिनको पारिश्रमिक सङ्कलन गरिएको प्रधानाध्यापक रेग्मीले बताए ।

कोभिड(१९ का कारण आइपरेको समस्यामा राज्यले बनाएको नीतिलाई सहर्ष स्वीकार गरी रकम सङ्कलन गरेर नगरपालिकालाई एकमुस्ट उपलब्ध गराइएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय सदस्य एवं पूर्णामृत भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक परशुराम लम्सालले बताए ।

नगरप्रमुख खाँणले शिक्षकले कोरोना भाइरस नियन्त्रणका लागि अनवरतरूपमा सक्रिय रहँदा रहँदै पनि राहत कोषमा आर्थिक सहयोग गरेर उदाहरणीय कार्य गरेकोमा खुसी व्यक्त गरे । ‘नगरपालिकाले स्थापना गरेको राहत कोषमा सामुदायिक विद्यालयका शिक्षकरशिक्षिकाले एकमुस्ट हालसम्मको सर्वाधिक राशि उपलब्ध गराएर ठूलो सहयोग गर्नुभएको छ,’ उनले भने, ‘यहाँहरूले उपलब्ध गराउनुभएको रकमको सही सदुपयोग गर्नेछौँ ।’ रासस