कुवेतबाट फर्किएका ७ महिलामा कोरोना पुष्टि

असार ७, काठमाडौं – कुवेतबाट फर्किएर भक्तपुरको चाँगुनारायण नगरपालिका(७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा रहेका ७ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सङ्क्रमित पुष्टि भएका मोरङका ४२ र ४१ वर्षीया, कास्कीका २३ वर्षीया, नवलपरासीका २९ वर्षीया, झापाका २८ वर्षीया, बाराका २८ वर्षीया, सुर्खेतका २८ वर्षीया महिला रहेका छन् ।

शरीरको तापक्रम बढी देखिएपछि कुवेतबाट नेपाल फर्किएकामध्ये प्रदेश १ र २ का १ सय ९ जनालाई भक्तपुरस्थित होल्डिङ सेन्टरमा नराखी खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको थियो ।

यसअघि गत बिहीबार खरिपाटी क्वारेन्टाइनमा रहेका नवलपुर गैँडाकोट निवासी २२ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यहाँ रहेका सबैको सोही दिन स्वाब सङ्कलन गरिएको थियो ।