प्रधानमन्त्रीको बेसार सुझावले तात्यो सामाजिक सञ्जाल

असार ५ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार राष्ट्रिय सभामा बोल्दै कोरोनाको औषधी बेसार हुन सक्ने बताए । बेसार सेवनले कोरोनाबाट बच्न सकिने उनको भनाई थियो ।

त्यस्तै ओलीले बेसारका फाइदा बेफाइदाको पनि चर्चा गरे ।बेसार कस्तो अवस्थामा खाने र कस्तो अवस्थामा नखाने जानकारी गराए । ओलीले कोरोना एक रुघाखोकी जस्तै रोग भएकाले तातो पानी खाएरै उडाउन सकिने तर्क समेत  गरे ।

 ओलीको यी भनाइले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ । बिश्वभर नै कोरोनाको औषधि पत्ता नलागेको अवस्थामा प्रधानमन्त्रीले औषधि पत्ता लगाए भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले ब्यङ्ग गरेका छन् ।

सञ्चारकर्मी गनी अन्सारीले ट्वीटरमा लेखेका छन् ‘प्रिय बेसार यति चर्चित हुन्छु भनेर तिमिले कहिले सोचेकी थियौं ? एक छिन सारा दुनिया भुलेर तिम्रै रङ्गमा रङिगन मन छ । के इजाजत छ ?

साहित्यकार खगेन्द्र सङ्गौलाले प्रधानमन्त्री हरेक कुरामा बिज्ञ भन्दै ब्यङ्ग गरेका छन् । ट्वीटरमा उनले लेखेका छन् ‘खड्गप्रसाद शर्मा ओली कति सारो बिद् कोरोनाबिद् यिनै, करणबिद् यिनै, जलाबायुबिद् यिनै, ग्रहशाबिद् यिनै , उखानटुक्काबिद् यिनै, काब्यबिद् यिनै, जडिबुटी बिद् यिनै, हावाबिद् यिनै । अतिबिद् ओली सर युगान्तकारी टपर्टुइयाँ हुन् । जब यो युग तुरिन्छ, दुनियाले यस्तो अर्को ओली झेल्नुपर्ने छैन ।’

ट्वीटर प्रयोगकर्ता रामेशले अब हस्पिटलमा ज्वरो होइन बेसार नाप्ने बिचार गरिएको बताएका छन् । उनले लेखेका छन् ‘ बिद्धान प्रधानमन्त्रीबाटै हुकुम भएकाले अब हस्पिटलको गेटमा ज्वरो नापेजस्तो बेसार नाप्ने यन्त्र पनि राख्ने बिचार गरियो ।’


त्यस्तै सञ्चारकर्मी प्रकाशचन्द्र   तिमल्सिनाले केही बेसारका बट्टाहरुको फोटो फेसबुकमा राख्दै लेखेका छन् ‘लौ आयो आयो बर्दियाको अर्गानिक बेसार , एक चम्चाको जम्मा रु १००० मात्र । एक चम्चा खानुस अनि एक पटक आच्छिउ गर्नुस् कोरोना चैट’