बन्दाबन्दीमा १०८ अन्तरराष्ट्रिय उडान : फर्किए ११ हजार ७०२ यात्रु

असार ३, काठमाडौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बन्दाबन्दीका अवधिमा मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट १०८ अन्तरराष्ट्रिय उडान भएका बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत पर्यटन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै पर्यटनमन्त्री भट्टराईले बन्दाबन्दीको झण्डै तीन महिनाको अवधिमा १०८ उडान भएको र यीमध्ये ६६ यात्रु चार्टर्ड उडान र ४२ कार्गो उडान रहेको जानकारी दिए ।

यी उडानबाट ११ हजार ८८५ यात्रु आवतजावत गरेका छन् । सबैभन्दा बढी ११ हजार ७०२ स्वदेशी तथा विदेशी बन्दाबन्दीको अवधिमा अन्तरराष्ट्रिय विमानस्थल हुँदै बाहिरिएका छन् । पछिल्लो विवरणअनुसार विभिन्न मुलुकबाट ६४९ नेपाली स्वदेश फर्केका छन् । यो अवधिमा २५ वटा वायुसेवा कम्पनीले ५४ उडान गरेका छन् । बाँकी नेपालका चार वायुसेवा कम्पनीले उडान गरेको मन्त्री भट्टराईले बताए । नेपालबाट तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले अन्तरराष्ट्रिय उडान गर्दै आएका छन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गर्न सरकारले चैत ११ देखि देशभर बन्दाबन्दी लागू गरेको थियो । चैत १० देखि नेपालमा उडान भर्ने अन्तरराष्ट्रिय वायुसेवाको उडान स्थगित गरिएको थियो । आन्तरिक उडान पनि स्थगित भएको थियो । पछिल्लो पटक असार २१ सम्म व्यावसायिक उडान प्रतिबन्ध गरिएको छ ।