काँग्रेसद्वारा स्वास्थ्यसम्बन्धी सार्वजनिक महत्वको विषयमा सूचना दर्ता

असार ३, काठमाडौ – नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारमा सरकारकोतर्फबाट भएका कामका सम्बन्धमा स्पष्ट पार्न र जनस्वास्थ्यमा महासङ्कट आउन नदिन तत्काल संसद्ले सरकारलाई मार्गनिर्देशन गर्न अपरिहार्य भएको भन्दै सदनमा जरुरी सार्वजनिक महत्वका विषयमा ध्यानाकर्षणको सूचना दर्ता गराएको छ ।

काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण, सचेतक पुष्पा भुसाल गौतम र सांसद गगनकुमार थापाले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको ध्यानाकर्षणका लागि उक्त सूचना आज दर्ता ग गराएका हुन् । स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित सूचनामा परीक्षणसम्बन्धी मापदण्डको परिमार्जन, पिसिआर विधिबाट हुने परीक्षणको गतिमा तीव्रता र दायरा फराकिलो बनाउनुपर्ने, क्वारेन्टिनलाई प्रभावकारीरुपमा व्यवस्थित बनाउनुपर्ने, कन्ट्याक्ट ट्रेसिङ क्षमतालाई सबलीकरण र विस्तार गर्नुपर्ने, कोरोना सङ्क्रमणको उपचारका लागि डेडिकेटेड अस्पताललाई व्यवस्थित बनाउनुपर्ने, कोरोनाबाहेकका अन्य रोगका बिरामीले सहज उपचार पाउने व्यवस्था गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराइएको छ ।

यसैगरी स्वास्थ्य सामग्री खरिद, विदेशबाट नागरिक उद्धार, क्वारेन्टिन व्यवस्थापन, राहत वितरणलगायतका विषयमा भएका अनियमितता प्रकरणका घटना र हालसम्म भएको भनिएको रु १० अर्बको खर्चको विवरण, विदेशबाट आउने नेपालीका लागि क्वारेन्टिन, परीक्षण र परामर्शका लागि आवश्यक प्राविधिक तयारीका सम्बन्धमा ध्यानाकर्षण गराइएको छ । नेपालमा पछिल्ला दिनमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्था छ र उही असार २ गतेसम्मको अद्यावधिक विवरणअनुसार नेपालमा कोरोनाका भाइरसबाट सङ्क्रमितको सङ्ख्या छ हजार ५१९ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १९ जना पुगेको र सङ्क्रमण ७३ जिल्लामा फैलिसकेको छ । रासस