सभामुख अधिकारीद्वारा दुःख व्यक्त

जेठ ३२, काठमाडौं – गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकाल बारीमा गएरातिको पहिरोमा परी आठको मृत्यु र एकजना बेपत्ता भएको घटनाले आफू स्तब्ध भएको बताएका छन् । आज एक शोक वक्तव्य जारी गर्दै उहाँले सो दुःखद घटनाका मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

सङ्कटपूर्ण यस समयमा परिवार गुमाउनुहुने तथा प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापना तथा पहिरोको जोखिममा परेका बस्ती संरक्षणमा तदारुकताका साथ काम गर्न सभामुख अधिकारीले सरकारसँग आग्रहसमेत गरेका छन् । घरभन्दा ३०० मिटर माथिबाट आएको सो पहिरोमा परी दुई घरका नौजना परिएकामा आठजनाको शव फेला परेको र एकजना बेपत्ता भएका थिए । आज नै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले घटनास्थलको निरीक्षण गरी पीडित मृतकका परिवारलाई सरकारका तर्फबाट जनही रु ५० हजारका दरले राहत प्रदान गरेका छन् ।रासस