सरकारी जमिन स्थानीयले गरे अतिक्रमण

जेठ ३१, काठमाडौ – बाजुरा सदरमुकाम मार्तडीस्थित स्वास्थ्य कार्यालयको जमिन स्थानीय केही व्यक्तिले अतिक्रमण गरेका छन् । जिल्ला वन डिभिजन कार्यालयको माथिपट्टिको जमिन स्थानीय केही व्यक्तिले अतिक्रमण गरेको देखिएको छ ।

शक्तिको आडमा जे गरे पनि हुन्छ भन्ने मानसिकताले गर्दा सरकारी जमिन अतिक्रमित हँुदै गएको छ । यसअघि जिल्ला स्वास्थ्य कार्यालय हुँदा अस्पतालले केही भाडा उठाउने गरेको भए पनि स्वास्थ्य कार्यालय भइसकेपछि भाडा उठाउन नसकिएको र अतिक्रमण हटाउन आग्रह गर्दा नमानेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए । पूरै जग्गा स्थानीयवासीले अतिक्रमण गरेको र हटाउन लगाउँदा हटाउँछु भने पनि नहटाएको जनस्वास्थ्य अधिकृत पन्तको भनाइ छ । स्वास्थ्य कार्यालयको भवनको बोलपत्रसमेत भइसकेको छ ।

“सरकारी जमिनमा कुनै पनि व्यक्तिले केही गर्न पाउदैनन्, त्यहाँ निजी घर बनाउँदा सरकारी जमिनको स्वरुप बिगारिएको छ”, कार्यालय प्रमुख पन्तले भने । “को मान्छे कुन पार्टीको आफूलाई मतलव नहुने तर सरकारी जमिन कसैले प्रयोग गर्न पाउँदैन”, पन्तको भनाइ छ ।

स्वास्थ्य कार्यालय बाजुराको अतिक्रमण भएको जमिनको विषयमा प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराइसकेको र केही दिनमा सर्वपक्षीय सर्वदलीय बैठक बसाउने तयारी रहेको छ ।रासस