सरकारी र निजी कार्यालयहरु दुई सिफ्टमा सञ्चालन हुने

जेठ २९,काठमाडौं –सरकारले कोरोना भाइरस जोखिम न्यूनिकरणका लागि सरकारी कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले औपचारिक जानकारी दिएका हुन् । उनका अनुसार सामाजिक दूरी र आवागमनमा सहज होस् भन्ने उद्देश्यले उक्त निर्णय लिइएको हो ।

खतिवडाले बिहान ८ देखि १ बजेसम्म पहिलो र १ बजेदेखि ६ बजेसम्म अर्को सिफ्ट चल्ने बताए । आवागमन गर्दा यातायातमा भीडभाड नहोस् भनेर र कार्यस्थलमा सामाजिक दुरी (भौतिक दुरी) कायम गर्नका लागि सरकारी, गैरसरकारी, निजी, बैंक तथा वित्तीय क्षेत्रका कार्यालयहरु दुई सिफ्ट सञ्चालन गर्ने निर्णय गरिएको उनले बताए ।