जडीबुटी प्रशोधन केन्द्र स्थापना

जेठ २९, काठमाडौ – तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मा तेजपातबाट तेल उत्पादन गर्नका लागि प्रशोधन केन्द्र स्थापना गरिएको छ । शुक्ला कृषि पर्यटन सहकारी संस्थाले डिभिजन वन कार्यालय तनहुँको सहयोगमा प्रशोधन केन्द्र स्थापना गरेको हो ।

प्रशोधन केन्द्र स्थापनाका लागि डिभिजन वन कार्यालयले रु २० लाख अनुदान उपलब्ध गराएको छ । सहकारी संस्थाको र २० लाखले भवन निर्माण गरिएको र केन्द्र वरपर तारबार गरिएको सहकारी संस्थाका उपाध्यक्ष मुक्ति तिमिल्सिनाले जानकारी दिए । डिभिजन वन कार्यालयले उपलब्ध गराएको रकमले ‘डिष्टिलेशन प्लाण्ट’ खरिद गरिएको छ ।

स्थानीय वनजङ्गलमा पाइने र सहकारीले उत्पादन गरेका तेजपातबाट तेल उत्पादन गर्ने लक्ष्य राखिएको तिमिल्सिनाले बताउनुभयो । “प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा रहेकाले केही समयमा नै उत्पादनको चरणमा जाने तयारी छ”, उनले भने, “बन्दाबन्दीले गर्दा काम गर्न केही ढिलाइ भयो ।”

दुई वर्ष अगाडि स्थापना भएको सहकारीमा करिब दुई हजार शेयर सदस्य छन् । तिमिल्सिनाका अनुसार सबै शेयर सदस्यलाई अनिवार्यरूपमा तेजपातका बिरुवा रोप्न लगाइनेछ । हरेक सदस्यलाई आयआर्जनमा जोड्नका लागि बिरुवा रोप्न लगाउने र उत्पादित बिरुवा सहकारीले खरिद गरेर प्रशोधन गरी तेल उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

“सहकारीका सदस्यहरु ग्रामीण भेगका रहेकाले हरेकलाई वृक्षरोपण गरी आयआर्जनको बाटोमा लाग्न अभिप्रेरित गर्छौँ, जसले गर्दा सहकारी सदस्यको पनि आयआर्जन वृद्धि हुन्छ भने प्रशोधन केन्द्रका लागि आवश्यक कच्चा पदार्थ पनि सहजरूपमा उपलब्ध हुन्छ”, तिमिल्सिनाले भने । सहकारी संस्था आफैँले पनि ७० हजार तेजपातका बिरुवा रोपिसकेको छ । “ग्रामीण भेगमा वृक्षरोपण गर्नाले वन्यजन्तुको आतङ्कबाट पनि बच्न सकिन्छ”, उनले भने ।

सहकारीले तेजपातका अलवा अदुवा, बेसार, कपुरलगायतबाट पनि तेल उत्पादन गर्ने लक्ष्य राखेको छ । डिभिजन वन कार्यालय तनहुँ प्रमुख केदार बरालले पातमा जरा आउने वनस्पतिबाट तेल उत्पादन गर्न सकिने जानकारी दिए । यहाँको हावापानी र भूबनोट तेजपातका लागि उपयुक्त देखिएकाले प्रशोधन केन्द्रका लागि कच्चापदार्थको अभाव नहुने बरालले बताए । हरियो वन कार्यक्रमको सहयोगमा म्याग्दे गाउँपालिकाको १५ हेक्टर क्षेत्रफलमा तेजपात पकेट क्षेत्र घोषणा गरिएको छ ।रासस