रासस समाचार प्रभाव : दमौली अस्पताल काँचुली फेर्दै

जेठ २९, काठमाडौ – जिल्ला सदरमुकामस्थित दमौली अस्पतालले नयाँ काँचुली फेरिने गरी काम गर्न लागेको छ । बहुवर्षीय योजनानुरुप उक्त अस्पतालमा हाल पाँच शय्या क्षमताको सघन उपचार कक्ष निर्माण गर्न थालिएसँगै अस्पतालको मुहार फेरिन लागेको हो ।

अस्पतालको पुरानो प्रसुति कक्ष रहेको भवनमा तीन भेन्टिलेटर र सोहीअनुरुप शय्या क्षमता निर्माण गरी भेन्टिलेटरसहितको सघन उपचार कक्ष बनाउन लागिएको अस्पतालले जनाएको छ । अस्पतालले गुणस्तर सेवा सुविधा प्रदान गर्दै अत्याधुनिक उपकरण खरीद तथा फोहोर व्यवस्थापन, छिटोछरितो ल्याब रिपोर्ट प्रदान गर्नेलगायत विषयमा आमूल परिवर्तन गर्ने गरी काम अघि बढाएको हो । अस्पतालमा रहेका एक्सरे, आँखा परीक्षण मेशिन, दाँत उपचार यन्त्रलगायत बिग्रिँदा ‘अस्पताल नै बिरामी अवस्थामा’ भन्ने शीर्षकमा केही समयअघि राससमा समाचार प्रकाशन भएको थियो ।

सघन कक्ष निर्माणका लागि गण्डकी प्रदेशबाट रु एक करोड ६९ लाख विनियोजन भएसँंगै ठाउँको अभाव देखिएपछि कर्मचारी बस्दै आएको भवन खाली गराएर काम शुरु गरिएको दमौली अस्पतालका प्रमुख डा सुनिल पौड्यालले जानकारी दिए । अस्पतालमा सघन उपचारको सुविधा नहुँदा जटिल खालका बिरामीलाई पोखरा, चितवन र काठमाडाँैंमा लैजानुपर्ने बाध्यता रहदै आएको छ ।

भारतबाट आएका एक जनामा कोरोना भाइरसको संक्रमण देखिए पनि अस्पतालमा सघन कक्ष नहँुदा शुक्लागण्डकी नगरपालिकाको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र लैजानुपर्ने अवस्था छ । उक्त केन्द्रमा हाल उपकरणसहितको २९ शय्या क्षमताको आइसोलेशन कक्ष निर्माण गरिएको छ ।

विसं २०७२ मा निर्माण गरिएको नयाँ भवनबाट प्रसूति सेवा प्रदान गरिएकाले पुरानो भवन सदुपयोग गरी सघन उपचार कक्षमा रुपान्तरण गर्न लागिएको दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले बताए । उनका अनुसार सघन उपचार कक्ष निर्माणका लागि हालै मात्र रु २० लाखको बोलपत्र आह्वान गरी मर्मतसम्भार भइरहेको छ । दमौली अस्पतालबाट सर्वसाधारणलाई गुणस्तरीय सेवा दिनका लागि पुराना उपकरण हटाएर नयाँ ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।

भिडियो एक्सरे, एक्सरे मेशिन तथा आँखा र दाँत परीक्षणका लागि नयाँ उपकरण खरीद गर्नका लागि बजेट विनियोजन भइसकेकाले तत्कालै काम शुरु गरिने योजना रहेको उनको भनाइ छ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले केही समयअघि दमौली अस्पतालमा सघन उपचार कक्ष निर्माण गर्नका लागि निरीक्षण गरेका थिए । केही समयमा नै अस्पतालमा सघन उपचार कक्ष निर्माण भएकमा जिल्लाबासीका लागि मात्रै नभई छिमेकी गोरखा, लमजुङ र कास्कीका केही भेगका मानिसले समेत लाभ लिन सक्नेछन् ।

फोहो रलाई मोहर

अस्पतालमा प्रयोग हुने र नकुहिने प्लाष्टिक, सिरिञ्ज, कार्टुनलगायत वस्तु निर्मलीकरण गर्ने मेशिनका लागि रु २५ लाखको बोलपत्र स्वीकृत भइसकेको छ भने रु पाँच लाखको लागतमा भवन निर्माण भइसकेको अध्यक्ष अधिकारीले बताए ।

फोहोरलाई मोहरमा परिवर्तन गर्ने योजनासहित प्रक्रिया अघि बढाइएको छ । कुहिने वस्तु भने छुट्टै राखी व्यवस्थापन गरिने बताइएको छ ।

दश मिनेटमा ल्याब रिपोर्ट

दमौली अस्पतालले दश मिनेटमा ल्याबको रिपोर्ट दिने गरी अत्याधुनिक अटोमेटिक मेशिन ल्याउने तयारी गरिरहेको छ । ल्याबको रिर्पोट लिन कम्तीमा दुईतीन घण्टा कुर्नुपर्ने समस्याको अन्त्य गर्नका लागि उक्त उपकरण खरीद गर्ने तयारी भइहेको छ ।

उक्त मेशिनको करीब रु २० लाख पर्ने बताइएको छ । त्यसैगरी अस्पतालमा रहेका अन्य उपकरण बिग्रिएर थन्किएपछि सेवाग्रहीले सास्ती भोग्नुपरेकाले खरीद गर्नका लागि गण्डकी प्रदेशबाट रु ४० लाख विनियोजन भइसकेको छ ।रासस