रामपुरमा पानी सङ्कट

जेठ २९, काठमाडौ – रामपुर नगरपालिकाका बासिन्दाको अझै पनि खानेपानीमा पहुच पुगेको छैन । नगरपालिकाको केन्द्र नजीकै रहेको रामपुर –४ काँसजरीका बासिन्दाको दिनचर्या खानेपानी जोहो गर्दैमा बित्ने गरेको छ । गाउँमा दिगो खानेपानीको प्रबन्ध नहँुदा समस्या अझै पनि समाधान हुन नसकेको ताराबहादुर सोती बताउछन् । पिउने पानीदेखि लिएर गाईभैँसीलाई खुवाउन र नुहाउन गाउँमा पानीको अभाव भएपछि स्थानीयवासी समस्यामा परेका छन् ।

गाउँमा लिफ्टिङ प्रणालीमार्फत खानेपानी आपूर्ति गर्न मूल कुवा नहुँदा समस्या परेको छ । रामपुर दोस्रो साना शहरी खानेपानी आयोजनाको पानी बस्तीमा लैजान पर्याप्त रकम नहँुदा समस्या परेको काँसजरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर वीरकट्टा बताउछन् ।

गर्मीयाम शुरु भएपछि बस्ती आसपासमा रहेका खोलाका किनार र खोल्सीमा पुगेर पानी ल्याउनुपर्दा दैनिक एकदेखि डेढ घण्टाको समय त्यसै बित्ने गरेको छ । खानेपानी समस्या समाधान गर्न नगरपालिकाले चालु आर्थिक वर्षमा रु पाँच लाख बजेट विनियोजन गरेको छ ।

रामपुर दोस्रो साना शहरीमार्फत खानेपानी आपूर्ति गराउन रकम धेरै लाग्ने भएकाले खानेपानी समस्या समाधान हुन नसकेको रामपुर– ४ का वडा सदस्य सीमादेवी राना बताउछन् । काँसजरी क्षेत्रका २३ घरधुरीका करीब दुई सय बासिन्दाले खानेपानी समस्या झेल्दै आएका छन् ।

रामपुर –७ कै माथिल्लो भेग बाहुनडाँडा क्षेत्रमा पनि खानेपानी समस्या छ । सो समस्याका कारण यहाँका धेरै स्थानीयवासी बस्ती नै छाडेर अन्यत्र बसाइँ गएका छन् । यसबाट उत्पादनशील जग्गा बाँझिन पुगेका छन् । पहिला यहाँ करीब ६० घरधुरीको बसोबास थियो भने अहिले २२ मात्रै छन् ।

टोल नजीकै खानेपानी स्रोत नहुँदा घरायसी कामकाज नै छाडेर पानी बोक्न धेरै समय खर्चनुपरेको स्थानीयवासी भीमकुमारी सिंजाली बताउछन् । बच्चाबच्चीको रेखदेख, गाईभैँसीको स्याहारसुसार, घरायसी कामधन्दा र मेलापात गर्न पानीको समस्याले अप्ठ्यारो परिरहेको उनको गुनासो छ ।

हालका लागि स्थानीयवासीले एक घण्टाको समय खर्चेर विभिन्न स्थानबाट पानी खोजेर उपभोग गरिरहेका छन् । मानिसलाई पिउन र गाईभैँसीलाई खुवाउन दैनिक बोकेर ल्याउनु पर्दा समस्या परिरहेको छ । सङ्घीय सरकारको रु ४० लाखको बजेटमा आयोजना शुरु गरिए पनि अहिले भने बन्दाबन्दीले काम ठप्प रहेको स्थानीयवासी तथा वडा सदस्य मीनबहादुर सिंजालीले बताए । हालसम्म लिफ्टिङका लागि खोलामा ट्याङ्की निर्माणको काम मात्र भएको छ । बस्तीदेखि करीब छ सय मिटर तल रहेको फार्सेखोलाबाट बस्तीसम्म पानी लैजाने योजना हो । आयोजना बाहुनडाँडा गाउँका अलवा मलेङ गाउँमा पु¥याइँदैछ । झण्डै ६० घरधुरी आयोजनाबाट लाभान्वित हुनेछन् ।रासस