चीनको गुर्मु सिटीद्वारा स्वास्थ्य सामग्री प्रदान

जेठ २८, काठमाडौं – छिमेकी राष्ट्र चीनको गुर्मु सिटीले भरतपुर महानगरपालिकालाई कोभिड–१९ विरुद्ध लड्न आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । ती सामग्री आज भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एक कार्यक्रमका बीच जिन्सी शाखालाई प्रदान गर्दै प्राप्त स्वास्थ्य सामग्री आवश्यकताअनुसार प्रयोग र वितरण गर्न निर्देशन दिए ।

महानगरलाई चीनको गुर्मु सिटीले रु ११ लाखबराबरको सर्जिकल मास्क, १० हजार थान, एन ९५ मास्क ९६० थान, पिपिई १२० थान र थर्मल गन १२० थानलगायतका सामग्री प्रदान गरेको हो । भरतपुर महानगरपालिका र चीनको गुर्मु सिटीबीच भगिनी सम्बन्ध कायम भएसँगै दुई नगरबीच विभिन्न विषयमा दुई पक्षीय सहयोग आदानप्रदान भइरहेको भन्दै उनले यस विपद्को अवसरमा यति ठूलो परिणाममा स्वास्थ्य सामग्री प्रदान गरेकामा गुर्मु सिटीको प्रमुख तथा गुर्मुवादी चिनियाँ जनतालाई धन्यवाद व्यक्त गरे ।

विपद्को अवस्थामा प्राप्त स्वास्थ्य सामग्रीले दुई नगरकाबीच भएको भगिनी सम्बन्धले जनस्तरमै सुमधुर सम्बन्ध कायम गर्न ठूलो भूमिका खेलेको उनले बताए । प्रमुख दाहालले गुर्मु सिटीले यस कोभिड–१९ रोगको रोकथाम र नियन्त्रणका लागि प्रदान गरेको स्वास्थ्य सामग्री स्वास्थ्यकर्मी, चिकित्सक, अघिल्लो घेरामा खटिने कर्मचारीलाई प्रदान गरिने बताउँदै कोरोना रोगको पहिचान, रोकथाम तथा नियन्त्रणको लागि प्राप्त स्वास्थ्य सामग्री सहयोगी हुने विश्वास व्यक्त गरे ।

भरतपुर महानगरपालिका कोराना–१९ विरुद्ध लडिरहेको बताउँदै प्रमुख दाहालले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल निर्माण तथा सञ्चालन, पिसिआर प्रयोगशाला सञ्चालन, क्वारेन्टिनको निर्माण र सञ्चालन साथै राहत वितरण कोरोना–१९ सँग बाच्न नगरवासीलाई सुसूचित गर्दै उच्च सुरक्षा सतर्कताका साथ विकास निर्माणका काम सञ्चालन गरिरहेको बताए ।

सोमबार भरतपुर महानगरपालिकाका प्रेस सल्लाहाकार सुरेशचन्द्र अधिकारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डललाई गुर्मु सिटीका प्रतिनिधि च्याङ जिउ लिई, छिङ बिङ, ह्याङ सिङ हानलगायतका प्रतिनिधिमण्डलले नेपाल चीन सिमाना तातोपानीको मितेरी पुलमा ती सामग्री प्रदान गरेको थियो । सो अवसरमा गुर्मु सिटीका प्रतिनिधि चाङ जिउ लिई लीले विपद्को बेला कोभिड–१९ विरुद्ध लड्न सानै भए पनि स्वास्थ्य सामग्री प्रदान गर्न पाउँदा गुर्मुवासीको तर्फबाट खुशी व्यक्त गर्दै आउँदा दिनहरुमा पनि आवश्यक सहयोग र सद्भाव कायमै रहने विश्वास व्यक्त गरेको अधिकारीले जानकारी दिए ।रासस