सामान्तबादी अबशेषको कालो धब्बा लिएर नेपाली शिर झुक्न हुदैन – सांसद बिश्वकर्मा

जेठ २५, काठमाडौं – नेकपाका सांसद छविलाल बिश्वकर्माले ६ जना युवकको ज्यान जाने गरि भएको रुकुम घटनाको निश्पक्ष छानबिन गरि दोषीलाई हदैसम्मको कारबाही गर्न सरकारसंग माग गरेका छन् । साथै उनले पिडितलाइ उचित क्षतिपूर्ती र सुरक्षाको समुचित प्रवन्ध मिलाउन जोड दिएका छन ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बिश्वकर्माले रुकुमको सोतीमा भएको घटना जातिय नरसंहार भएको वताउदै उनले थपे, ‘रुकुममा घटेको बिभत्स घटनाले दिल, दिमाग खलबलिएको छ, युगान्तकारी परिवर्तनका लागि नवराज बिक र गणेश बुढाले योगदान दिएका छन्, तर तिनका सपना बेबारिसे बन्ने हुनकी भन्ने जोखिन बढेको छ ।’

गत जेठ १० गते अन्तरजातिय बिबाह गर्ने क्रममा पश्चिम रुकुमको सोतीमा ६ जना युवा मारिएकोे र भेरीमा बगेको घटनाले नेपाली समाजलाई झस्काएको र दलितहरु पिडाले आक्रोशित बनेको उनले वताए । साथै संसदमा यो घटनालाई महत्वका साथ अघि बढाएको भएपनि छुवाछुत उन्मुलनका लागि यतिले नपुगेको उनको भनाई छ ।

उनले भने ‘जातीय भेदभाव तथा छुवाछुत उन्मुलन सम्बन्धि अन्तराष्ट्रिय अभिसन्धीका हामी पक्ष राष्ट्र हौं । अब यसको उन्मुलनका लागि आवधिक योजनाका साथ अघि बढ्ने हिम्मत सरकार र राजनीतिक दलहरुले गर्नुपर्दछ ।’

संबिधानको मुल मर्म र भावनालाई ब्यबहारमा उतार्नका निम्ती आवश्यक तयारी गर्नु पर्ने उल्लेख गरे । त्यस्तै उनले पहुंच र प्रतिनिधित्वको ब्यवस्था बास्तबिक अर्थमा हुनुपर्ने बताए । अब सामान्तबादी अबशेषको कालो धब्बा लिएर नेपाली शिर झुक्न नहुने उनको भनाई छ ।