गगन थापा भन्छन् ‘राष्ट्रपतिले खुट्टा टेकेको ठाउँमा पैसा दिने कार्यक्रम संघीयता विरोधी छ’

जेठ २५, काठमाडौं – नेपाली काग्रेसका संसद गगन कुमार थापाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत बजेट बढाएको प्रति असन्तुष्टि पोखेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि आगामी आर्थिक वर्षको बजेट र कार्यक्रममाथि प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै थापाले यस कार्यक्रम अन्र्तगत १ अर्ब बढाएकोमा संघीयता विरोधी कार्यक्रम रहेको बताएका छन् ।

उनले भनेका छन् ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम भनेर राजाले हिजो बक्सिस बाँडेको जस्तो राष्ट्रपतिले खुट्टा टेकेको ठाउँमा पैसा दिने कार्यक्रम संघीयता विरोधी छ । संविधान विरोधी छ र व्यवस्था विरोधी छ । यस्तो कार्यक्रममा गतवर्ष ५ अर्ब छुट्याइएकोमा यसवर्ष बढाइएर ६ अर्ब बनाउने ? ’ थापाले शिक्षामन्त्रीलाई प्रश्न गरे ‘अर्थमन्त्रीले श्रेष्ठता देखाउनुभयो, हेप्नुभयो भन्दै गर्दा शिक्षामन्त्रीलाई के सोध्न मन लागेको छ भने राष्ट्रपतिलाई श्री ६ बनाउने रहर किन पलायो ?’

त्यस्तै उनले शिक्षा मन्त्रालयको आगामी वर्षको बजेट र कार्यक्रमले शिक्षा क्षेत्रलाई र सांसदहरूलाई निराश बनाएको बताएका छन् ।